भद्रपुर । केहीवर्षयता झापामा सम्बन्ध विच्छेद्,मानव बेचविखन र जवरजस्ती करणीका घट्ना बढी हुने गरेको पाइएको छ । झापा जिल्ला अदालतमा दुइवर्षको अवधिमा दर्ता भएका मुद्दाको प्रकृतिले यस्तो देखाएको हो ।
गत आर्थिक वर्ष ०७३।७४ मा ६ सय ७१ ओटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष ०७४।७५मा ७ सय २३ दर्ता भइ गत वर्ष भन्दा ५२ ओटा बढी देखिएको अदालतले जनाएको छ । यो प्रकृतिका मुद्दा दर्ता बढ्नुमा वैदेशिक रोजगारसँगै सम्पत्तिको लालच प्रमुख कारण भएको फाँटवाला कर्मचारीको भनाइ छ ।
कम उमेर समूहबीच विवाह,प्रेम विवाह,अन्तरजातिय विवाह पनि सम्बन्ध विच्छेद्का सहयोगी भएको उनिहरु बताउँछन् । श्रीमान वा श्रीमती वैदेशिक रोजगारीमा जाने र स्वदेश वसेकोले मोजमस्ती गरी सम्पत्ति सक्ने वा अन्तै घरजम गरिसकेका कारण यो मुद्दा अदालतमा बढी दर्ता हुने गरेको शाखा अधिकृत इन्द्र योङ्हाङ्ले बताए ।
सामाजमा देखासिखी गर्दै हैसियत तुलना गर्ने परिपाटिले प्रशय पाइरहेको हँुदा वार्षिक रुपमा यस्ता खाले मुद्दा अदालतमा बढी आउने गरेको अधिकृत योङ्हाङ्को भनाइ छ । यस्ता मुद्दामा महिलाको सङख्या धेरै भएको उनले जनाए । विवाह गरेको केहीदिनमा नै सम्बन्ध विच्छेद्को मुद्दा समेत आउने गरेको एक कर्मचारीले नाम चै नहाल्नु भन्दै बताए । केही दिन अघि मात्र श्रीमानलाइ समय खराब भएकोले रकम चै बैङ्क मार्फत पठाउन लगाएर श्रीमान घर आउदा श्रीमती वेपत्ता भएको घट्ना उनले सुनाए । विवाह गर्नु अगाडी केटाले सम्पत्तिको अवस्थाका बारेमा केटीलाइ जानकारी गराउने र विवाह पश्चात मनमुटाव गरी सम्पत्ति हडप्न अंश मुद्दा दायर गर्ने घट्ना आउने गरेको उनले बताए ।










