आदरणीय प्रचण्ड ज्यु,
जनयुद्ध उत्साह, आलोचित, आत्मालोचित, पतित र भ्रष्ट हुदै एमालेमा एकीकरण भइसक्यो । यो तपाईकै अस्थिर बोली र मौका परस्त कार्यशैलीको फल हो । तर, अझै पनि तपाईले चेतेको देखिएन ।
तपाईले साउन २२ गते किरात राई यायोक्खाको ३१ अौं स्थापना दिवसमा बोल्दै 'प्रदेश १ को नाम किरात नै' रहने बताउनु भएछ । हुन त म कुनै खास जात बिरोधी होइन । अझ मेरो हकमा त जीवन संगिनी समेत किराती (थुलुङ राई) हुन् । यद्यपि धरातलिय यथार्थ के हो भने ०६८ को जनगणना अनुसार किरातको जनसंख्या २.३४० र लिम्बुको १.४६२ मात्र छ । प्रदेश १ मा विश्वकै गौरव सगरमाथा छ । आजका दिनमा पनि नेपाललाई नचिन्नेहरुले सगरमाथालाई चिन्छन् । धर्तीको सर्वोच्च शिखर सगरमाथा चुम्न आज पनि शाहसी पर्वतारोहीहरुको तछाडमछाड चल्छ । सगरमाथाका नाममा युरोप/अमेरिकामा विश्व प्रसिद्ध कम्पनीहरु छन् ।
तपाईलाई जानकारी छ कि छैन, नेपालको ठुलो जलाधार क्षेत्र र सबैभन्दा ठुलो कोशी नदी प्रदेश १ मै छ । यो नदी ७२० किमी लामो छ भने जलप्रवाह क्षमता औसत १,५६४ क्युविक मिटर प्रति सेकेन्ड रहेको छ । कोशी नदीको प्रभाव क्षेत्र करिव ६० हजार वर्ग कि.मि. छ । यस नदीबाट २२ हजार मेगावाटसम्म विध्दुत निकाल्न सकिने अनुमान छ । त्यसमाथि किरात र लिम्बुहरुको एकापसमा ठूलो मनोमालिन्य छ । अनि, प्रदेश १ को नाम सगरमाथा, कोशी राख्न छाडेर तपाई किन सानो जात विशेषको नाम जुराउन दौडनु भएको हो ? सानो समुहलाई आत्मसन्तुष्टि दिने वहानामा ठूलो समुह र विश्वकै गौरव माथि घोर अन्याय गर्ने बाटोतिर किन दौड्नु भएको हो ?
माधव बस्नेत











