वीरगन्जको गण्डक चोक नजिकै रहेको निम्बस ग्रुपको एक उद्योगमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले छापा मारेका छन्। गण्डक चोक नजिकै रहेको औद्योगिक घराना निम्बस ग्रुपद्वारा सञ्चालित प्रो बायोटेक इण्डष्ट्रिज प्रालि उद्योगमा बुधबार मन्त्री यादवले छापा मारेका हुन्।
प्रो बायोटेक इण्डष्ट्रिज प्रालि उद्योगले खाने रिफाइन तेल, सोयाबिन र भटमासको तेल उत्पादन गर्दै आएको छ। वीरगन्जमा मंगलबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको राष्ट्रिय भेलामा सहभागी भएर बुधबार काठमाडौं फर्कने क्रममा वीरगन्जबाट सिमरा विमनस्थलमा जाने क्रममा मन्त्री यादवले अचानक उद्योगमा छापा मारेका हुन्।
नापतौल तथा गुणस्तर विभागको क्षेत्रीय कार्यालयबाट आएका प्राविधिक, जिल्ल प्रशासन कार्यालय पर्साका प्रतिनिधि र सुरक्षाकर्मीका साथ उद्योगमा पुगेका मन्त्री यादवले छापा मार्ने क्रममा उद्योगले उत्पादन गर्दै आएका सबै सामानको नमूना लिएर गएको उद्योगका कर्मचारीले जानकारी दिएका छन् ।
प्रो बायोटेक इण्डष्ट्रिज प्रालिले उत्पादन गर्दै बजारमा आपूर्ति गर्दै आएका खाद्यान्नका सामान गुणस्तरहीन भएको गुनासो आएपछि उद्योगमा निरीक्षण गर्न गएको हुँ , मन्त्री यादवले भने, ‘ शंकास्पद सबै सामानका नमूना लिएर आएको छु , ती नमूना परिक्षणका लागि नापतौल तथा गुणस्तर विभागको प्रयोगशालामा पठाएको छु।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले भने मन्त्री यादव उद्योगमा पुगेको खबर आफूलाई पनि आएको तर उनले छापा नै मारेको हो वा अनुगमन मात्र गरेको हो यस बारेमा यकिन जानकारी आइ नसकेको प्रतिक्रिया दिए।
उद्योगबाट मन्त्री यादवले केही सामानको नमूना लिएर काठमाडौं गएको भन्दै अध्यक्ष शर्माले भने, ‘ हामीलाई मन्त्री वा राज्यको कुनै निकायबाट पूर्व जानकारी गराइएको छैन , यदि मन्त्री यादवले छापा नै मारेका हुन् भने यो सराहनीय काम पक्कै होइन , यस्ले उद्योगी व्यवसायीमा झन् आतंकित बनाउने काम हुन्छ।
सम्बन्धित उद्योगका सञ्चालकसँग यस बारेमा आफूले कुरा गर्ने र त्यसपछि मात्र संघको तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्ने अध्यक्ष शर्माले बताए। टिभी अन्नपूर्ण बाट










