विराटनगर – १ नम्बर प्रदेशको नाम के राख्ने भन्नेबारे चर्चा चुलिएको छ । तर, प्रदेशको नामाकरणको विषयले हालसम्म प्रदेश सभामा प्रवेश पाएको छैन ।

नामको विषयमा सबैको चासो भएकाले साझा पहिचानको आधारमा नाम राख्नुपर्ने संवाद समूह मोरङले आयोजना गरेको संवाद कार्यक्रमका सहभागीले बताएका छन् । प्रदेशको नाम के राख्दा उपयुक्त होला भन्ने विषयमा गरिएको संवाद कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले सबैलाई समेटेर लैजानुपर्ने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्री घिमिरेले साझा पहिचानको आधारमा सर्वसम्मत रुपमा प्रदेशको नाम राख्ने बताए । चाँडै विषयले संसदमा प्रवेश पाउने र सर्वसम्मत रुपमा प्रदेशको नाम राख्न आफूहरू लागिपरेको उनले बताए । ‘१ नम्बर प्रदेशमा १ सय ७ भाषा बोल्ने मान्छे बस्छन् । भाषिक, सांस्कृतिक विविधता छ,’ उनले भने, ‘यसैले सर्वसम्मत निर्णय गर्नुपर्छ भन्ने लागेको छ, कोशी एउटा नदी मात्र नभएर, सभ्यता र संस्कृति हो ।’

उनले सबै पक्षको कुरा सुनेर धारणा बनाउने बताएका छन् । ‘अहिले प्रदेश सरकार सुझाव लिने र धारणा बनाउने क्रममा रहेको छ,’ उनले भने, ‘१ नम्बर प्रदेशमा ३/४ वटा, बहुपहिचानहरू छन्, त्यसको सम्मान गर्नुपर्छ ।’ अब चाँडै संसदलाई विषयमा बिजनेस दिइने उनले बताए ।

छलफलमा मुख्य राजनीतिक दलका प्रमुख नेता, प्रदेश सभाका संसद र विषय विज्ञ लगायतको सहभागिता रहेको थियो । सहभागीमध्ये धेरैले कोशी नाम उपयुक्त हुने तथा पहिचान, सभ्यता, संस्कृति र समृद्धि झल्काउने बताएका छन् । केहीले सगरमाथा उपयुक्त नाम हुने भन्दै प्रदेशको नाम सगरमाथा राख्नुपर्ने धारणा राखेका छन् ।

प्रदेशसभा सदस्य कुशल लिम्बु र नेकपाका नेता गणेश उप्रेतीले किराँत–कोशी प्रदेश राख्नुपर्ने धारणा राखे । संवादमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रदेश सांसद विष्णुमाया तुम्वाहाम्फेले प्रदेशको नाम लिम्वुवान नै राख्नुपर्नेमा जोड दिइन् ।

अग्रज पत्रकार मोहन भण्डारीले साझा नाम खोज्नुपर्ने आवश्यकता रहेको बताए । प्रदेशको भौगोलिक अवस्था, संस्कार, संस्कृति र इतिहासलाई हेर्ने हो भने प्रदेशको नाम सगरमाथा वा कोशी राख्दा उपयुक्त हुने उनको तर्क छ ।

नेकपाका नेता गणेश उप्रेतीले पहिचान र सामथ्र्यको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने बताए । उनले किराँत नामले पहिचान झल्काउने र कोशीले सभ्यता झल्काउने भन्दै प्रदेशको नाम कोशी–किराँत राख्नुपर्ने धारणा राखे ।

प्रदेशसभा सदस्य तथा संघीय समाजवादी फोरम नेपालका जयराम यादवले मेचीदेखि महाकालीसम्म तराईको भूगोललाई मधेश प्रदेशमा राख्नुपर्ने बताए । उनले आफ्नो पार्टीको राजनीतिक अडान हुँदाहुँदै पनि साझा नामको पक्षमा आफू रहेको बताए । उनले संसद र पार्टीमा बहस नचलेको जानकारी दिँदै नाम राख्दा सगरमाथा प्रदेश नै राख्दा पनि आपत्ति नभएको उनले बताए ।

नेपाली कांग्रेसका प्रदेशसभा सांसद शान्ता पौडेल, जिल्ला सचिव नागेश कोइराला, मोदराज घिमिरे तथा पूर्वसचिव यदु विष्टले सगरमाथालाई प्राथमिकतामा राख्दै विकल्पको रुपमा कोशी राख्दा उपयुक्त हुने धारणा राखे ।

कांग्रेसभित्र छलफल हुँदा प्रदेशको नाम सगरमाथा नै राख्ने भन्ने बिषयबाट केन्द्रीत भएकाले यही नाम नै सर्वमान्य हुन सक्ने तर्क कांग्रेस तर्फका नेताको छ । सचिव घिमिरेले कांग्रेस मोरङमा औपचारिक रुपमा बहस नभएपनि अनौपचारिक रुपमा सगरमाथा नाममा बहस भएको बताए ।

संस्कृतिविद् डा. सोम खतिवडाले प्राकृतिक प्रदेशको नाम कोशी हुनुपर्ने कारण प्रस्तुत गर्दै सांस्कृतिक, सभ्यताको इतिहास, किराँत संस्कृतिको मूल केन्द्र, हिन्दू, बौद्ध धर्मको सभ्यता कोशीसँग जोडिएकाले यो नाम उपयुक्त हुने सुझाव दिए ।

मधेशी बुद्धिजीवी भगवान झा प्रदेशको नाम सगरमाथा प्रदेश राख्नुपर्ने आधार प्रस्तुत गर्दै भन्छन्, ‘नामको नाममा कुनै विवाद गर्नुपर्ने अवस्था छैन ।’ नेकपाका नेता ऋषिकेश पोखरेलले अहिलेको अवस्थामा बहुमतको आधारमा निर्णय गर्ने पक्षमा नरहेको बताए । ‘बहुमतको आधारमा गर्ने हो भने नेकपासँग दुईतिहाइको बहुमत प्रदेश सरकारसँग छ । तर, हामी सबैको सहमतिमा सवैको भावना अनुरुप काम गर्ने छौं,’ उनले भने ।

‘अहिलेसम्म पनि प्रदेशको नाम के राख्ने भन्ने विषयमा बहस भएको छैन,’ उनले भने, ‘साझा नामको कुरा गर्दा सगरमाथा वा कोशीभन्दा अरु केही उपयुक्त नाम नभएको दाबी गरे । नाम व्यक्ति वा समुदायसँग भन्दा पनि प्रदेशको समृद्धिसँग जोडेर हेर्नुपर्नेमा उनको जोड छ ।

राजपाका जिल्ला संयोजक मोहम्मद कादिरले भने, ‘समग्र मधेश एक प्रदेशको विषयमा सहमति भएको भएपनि १ नम्बर प्रदेशमा मिक्स कल्चर छ । यसैले अहिले सगरमाथा नै सबैको उपयुक्त नाम हुन्छ ।’

संवाद कार्यक्रममा बोल्दै कृषि विज्ञ राजेन्द्र उप्रेतीले प्रदेशको नाम कोशी राख्दा उपयुक्त हुने बताए । संघीय लोकतान्त्रिक मञ्चका नेता तथा प्रदेशसभा सदस्य विष्णु तुम्बहाम्फले प्रदेशको नाम लिम्वुवान राख्नुपर्ने बताए । लोकान्तर बाट