नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की स्थायी कमिटी सदस्य पम्फा भुसालले जनताको अभिमतबाट आएको सरकार र संसद्को निर्णयलाई न्यायपालिकाले मान्नुपर्ने बताएकी छन् ।

रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले अग्रगामी परिवर्तनलाई न्यायपालिकाले आत्मसात् गर्नुपर्नेमा त्यस्तो हुन नसकेको बताइन् । उनले भनिन्, ‘जनताको अभिमतलाई न्यायपालिकाले कुठाराघात गर्न हुन्न, अन्य संस्थाको पुनःसंरचना भएजस्तै न्यायपालिकाको पनि पुनःसंरचना हुनुपर्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रतिपक्षले जनमतअनुरुप जनताको सुविधाका लागि विगतमा झैँ मिलेर देश विकासको काममा जुट्नुपर्ने भुसालले बताइन् । सत्ता र प्रतिपक्ष नभई संविधानको कार्यान्वयन, देशको विकास र समृद्धिमा एक भएर अघि बढ्नुको विकल्प नभएको बताउँदै उनले नेपाल र नेपालीको हित हुने कार्यमा लाग्न प्रतिपक्षलाई सुझाव दिइन् ।

प्रधानन्यायाधीश नियुक्तिमा संसदीय सुनवाइ समितिले हचुवामा निर्णय नगरेको र अनुसन्धानलाई आधार बनाएर आफ्नो अधिकार प्रयोग गरेको भुसालको दावी छ । समितिको निर्णय सर्वोच्च अदालतको निर्णय जस्तै अन्तिम भएकाले यसमा प्रधानमन्त्रीलाई बीचमा ल्याउन खोज्ने प्रतिपक्षको प्रयास गलत भएको औँल्याइन् । -रासस