गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा ‘विप्लव’ समूहका प्रवक्ता प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको स्पष्टिकरण दिएका छन् ।
शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारुकर्मीहरु कुराकानी गर्दै गृहमन्त्रीले प्रकाण्डको नाममा वारेन्ट जारी भएको बताए । नेकपाका नेता समेत रहेका गृहमन्त्री बादलले भने, ‘प्रकाण्ड गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न थिए । चन्दा आतंक मच्चाएकाले पक्राउ गरिएको हो ।’
प्रकाण्ड अपराधी हुन् भन्ने प्रश्नमा उनले भने, ‘जसले कानुनलाई उल्लंघन गर्छ, त्यसलाई हामी अपराधी भन्छौं ।’ बादल गृहमन्त्री हुँदा प्रकाण्डको हातमा हथकडी लाग्यो भन्ने टिप्पणीहरु भइरहेको छ नि भन्ने प्रश्नमा गृहमन्त्री बादलले भने, ‘बादल गृहमन्त्री हो, गृहमन्त्रीको काम कानुनको कार्यान्वयन गर्नु हो, अपराधीलाई नियन्त्रणमा लिने र सजाय दिने हो । अपराधीलाई नियन्त्रणमा लिने क्रममा यस्ता घटना हुन्छन् ।’










