कपाका दुई बरिष्ठ नेताहरुले आगामी भदौमा भारत र चीनको पालैपालो भ्रमण गर्ने भएका छन्। अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रबक्ता नारायणकाजी श्रेष्ठले छिमेकी देशको पालैपालो भ्रमण गर्न लागेका हुन्।

पार्टी केन्द्रीय सचिवालयको बैठकपछि बिहीबार नारायणकाजी श्रेष्ठले आफ्नो नेतृत्वमा १२–१९ सेप्टेम्बर (२७ भदौ–३ असोज) सम्म चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणमा नेकपाको एक प्रतिनिधि मण्डल चीन भ्रमणमा जाने बताएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा प्रबक्ता श्रेष्ठले यो कुरा बताएपनि बिहीबार साँझ फेसबुक चाहिँ यो कुरा उल्लेख गरेका छैनन्। प्रबक्ता श्रेष्ठको चीन भ्रमणको कार्यक्रम सार्वजनिक भएलगत्तै अध्यक्ष प्रचण्डको भारत तथा चीन भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ।

जस अनुसार प्रचण्डले २२ भदौदेखि पाँच दिन भारतको भ्रमण गर्नेछन्। अध्यक्ष प्रचण्ड भारत भ्रमण सकेर नेपाल फर्केकै दिन प्रबक्ता श्रेष्ठको चीन भ्रमण सुरु हुनेछ। तर, प्रचण्ड भारत भ्रमणबाट फर्केकै दिन चीन भ्रमणमा जान लागेका श्रेष्ठलाई प्रचण्डले पनि पछ्याउने छन्।

किनभने, भारत भ्रमणबाट फर्केलगत्तै प्रचण्डपनि चीन भ्रमणमा जाने योजनामा छन्। उनी १ असोजमा चीन भ्रमणमा जाने बताइएको छ। पार्टी एकता लगत्तै प्रचण्डले आफूलाई चीन र भारत दुबै देशबाट भ्रमणको निम्तो आएको बताएका थिए।

श्रेष्ठ चीन भ्रमणमा नै रहेका बेला प्रचण्ड बेइजिङ भ्रमणमा रहनेछन्। तर, दुई नेताबीच चीनमा भेट हुन्छ वा हुँदैन, त्यो चाहिँ बताइएको छैन। नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली चाहिँ प्रधानमन्त्रीका हैसियतमा चीन भ्रमणमा गइसकेका छन्।