झापा । झापाको गौरादह नगरपालिका १ स्थित भित्री सडकखण्डमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका १ निवासी २८ वर्षीय कमल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
उनका अनुसार मे १ त ६५५३ नम्बरको गुडिरहेको ट्याक्टरबाट खस्दा गम्भीर घाइते भएका तामाङको लाइफ लाइन अस्पताल दमक शुक्रबार उपचारको क्रममा मृत्यु भएको हो। यता ट्याक्टरसहित चालक दमक नगरपालिका १ निवासी २४ वर्षीय दर्शन तामाङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको जनाइएको छ । यसैगरी मेचीनगर नगरपालिका ४ स्थित जोगी डाँडामा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धा घाइते भएका छन् ।
मे १ प ६६२६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ८० वर्षीया तीलमाया कडरिया घाइते भएकी प्रहरी कार्यालय झापाले जनाएको छ। घाइते कडरियाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ, भने मोटरसाइकसहित चालक मेचीनगर नगरपालिका ४ निवासी २२ वर्षीय अनिल कार्कीलाई प्रहरी चौकी बाहुनडाँगीले नियन्त्रण लिएको जनाइएको छ।










