खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले नेपालका हिमतालको पानी विदेशमा बेच्ने योजना सुनाएकी छन्।
केही साताअघि गण्डकी प्रदेशको प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट रेलमा पानी भरेर विदेश पठाउने बताएका थिए।
मन्त्री मगरले पनि ग्ल्यासियरको पानी बेच्ने गरी योजना तयार गर्दै गरेको उनले बताइन्।
‘हाम्रो हिमालबाट बगेको ग्ल्यासियर वाटर महत्वपूर्ण र सबैभन्दा महँगो छ’, पोखराको खानेपानीको मुहान मर्दी क्षेत्रमा आज आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्भावनाहरू खोज्नका लागि खानेपानी संस्थानले तयारी गरिरहेको बताइन्।
नेपाल खानेपानी संस्थानले खानेपानीको अन्तर्राष्ट्रिय व्यापारको संभावनाबारे अध्ययन गरिरहेको बताउँदै उनले ‘एभरेष्ट वाटर’को नामबाट त्यो पानीलाई अन्तर्राष्ट्रिय व्यापार गरिने बताइन्।
कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले नेपाल खानेपानी स्थान पोखरा महानगरपालिकालाई दिन आग्रह गरे। उनले संघीय सरकार मातहतमा हुँदा पोखराबासीले सफा पानी पिउन नपाएको बताए।
पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा नेपाल खानेपानी संस्थान तथा पोखरा महानगरपालिकाको सहयोगमा पोखराको खानेपानीको मुहान मर्दी क्षेत्रमा निर्मित शवदहन गृह, प्रतिक्षालय र शौचालय समुदायलाई हस्तान्तरण गर्दै उनले सबै नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी खुवाउन सरकार लागिपरेको बताए। पोखरामा खानेपानीको मुहान माछापुच्छ्रे गाउँपालिका विभिन्न वडामा करिब ३५ लाखको लागतमा ३ वटा शवदहन गृह निर्माण गरेको हो।
सोही अवसरमा मन्त्री मगरले बिरुवा सारेकी थिइन् भने शवदहस्थल समुदायलाई हस्तान्तरण गरेकी थिइन्। सेतो पाटी बाट










