धनगढी । प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकले मुख्य न्याधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस .अघि उक्त विधेयकमाथि भएको छलफलमा प्रदेशसभा सदस्य भरतबहादुर खड्का र महेशदत्त जोशीले भाग लिएका थिए ।

विधेयक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री बोहराले दिएपछि बैठकमा निर्णयार्थ पेश गरिएको थियो ।

मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल भई तयार पारिएको प्रतिवेदन यस अघिका बैठकमा प्रस्तुत गरिएको थियो ।

आजको बैठकले स्थानीय तहलाई वित्तीय हस्तान्तरण व्यवस्थापन गर्न बनेको विधेयक २०७५ लाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाइयोस् भनी आर्थिक मामिला तथा योजना मन्त्रीले प्रस्तुत गर्नु भएको प्रस्तावलाई स्वीकृति दिएको छ ।

बैठकमा मन्त्री बोहराले प्रदेश नं ७ प्रदेशको कर तथा गैरकरका राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल गरे ।

सुरक्षाको चासो

आजको बैठक प्रारम्भ हुनासाथ समय माग गरेर प्रतिपक्षी नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्य टेकबहादुर रैकाआउजीले कैलालीका पत्रकार नवराज धानुक र लोकेन्द्र बिष्टमाथि भएको आक्रमणको घटनाका दोषीलाई कारवाही गर्न माग गरे ।

उनले पत्रकारको सुरक्षाको उचित व्यवस्था गर्न, केही समयदेखि आन्दोलनरत सामाजिक परिचालकहरुको माग सम्बोधन गर्न ध्यानाकर्षण गराए । प्रदेश सभाको अर्को बैठक यही साउन २९ गते दिउँसो १ बजे बस्ने छ ।

रासस