नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मातहत कमिटीको सम्मानजनक एकता गर्नेतर्फ ध्यान केन्द्रित गरेको छ । जिल्ला, प्रदेश र जनवर्गीय संगठनहरूको एकताका लागि गठित कार्यदललाई प्रतिवेदन बुझाउन दिएको समय सकिनै लाग्दा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका शक्ति सन्तुलन र दोहोरो जिम्मेवारी नपर्ने गरी सम्मानजनक एकतामा नेकपाले ध्यान केन्द्रित गरेको हो ।
प्रदेश संगठन कमिटी, जिल्ला कमिटी र जनवर्गीय संगठनको एकताका लागि गठित कार्यदललाई साउन मसान्तसम्म केन्द्रीय सचिवालयमा प्रतिवेदन बुझाउने समय दिइएको छ । यसअघि नै इञ्जिनियरहरूको संगठनबीच एकता भइसकेको छ भने शनिबार मात्रै कर्णाली प्रदेशको एकताको टुंगो लगाई कार्यदलको तर्फबाट महासचिव विष्णु पौडेललाई प्रतिवेदन बुझाइएको छ । सबै कार्यदलबाट साउन मसान्तसम्म प्रतिवेदन आएपछि ५ भदौभित्र मातहत कमिटीको सांगठानिक एकता टुंग्याउने र १५ भदौसम्म जिल्ला, प्रदेशको बैठक र जनसंगठनको केन्द्रीय कमिटीको पहिलो बैठक आयोजना गर्ने समयतालिका यसअघि नै नेकपा सचिवालयले सार्वजनिक गरिसकेको छ ।
केन्द्रमा एकता भए पनि मातहत कमिटीको एकता टुंगो नलाग्दा पार्टी कार्यकर्ता चलायमान नभएको, सरकारविरुद्ध अफवाह फैलाउँदासमेत प्रतिवाद कम भएको निष्कर्षसहित नेकपाले मुख्य प्राथमिकतामा सांगठानिक एकता राखेको हो । एकतासँगै केन्द्रीय सदस्यहरूको कार्यविभाजनसहित देशभर परिचालन गर्ने योजनासमेत महासचिव पौडेलले अघि बढाएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डसहित सचिवालयका सबै नेताहरूको परामर्शमा महासचिव पौडेलले केन्द्रीय सदस्यको कार्यविभाजनको प्रस्ताव तयार पारेको एक नेताले बताए ।
पार्टी निर्देशनअनुसार प्रदेश, जिल्ला र जनसंगठनहरूको एकीकरण टुंग्याउने गरी अधिकांश कार्यदलले विधानदेखि केन्द्रीय कमिटीमा रहने सदस्यहरूको नामावलीसमेत अन्तिम रूप दिइसकेका छन् । यही समय तालिनकाअनुसार काम भएमा नेकपाका सात प्रदेश, २१ ओटा जनवर्गीय संगठन र ७७ ओटा जिल्ला कमिटीमा ५ भदौभित्र एकता हुनेछ ।
प्रेस संगठन : नेतृत्व बाँकी
अहिलेसम्म पत्रकार संगठनबीच एकताका लागि अधिकांश गृहकार्य टुंगिएको छ । प्रेस चोतारी नेपाल र प्रेस सेन्टरबीच एकतापछि प्रेस संगठन नेपाल नाम राख्ने सहमतिसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको टुंगो लागिसकेको छ । सो संगठनको नेतृत्वको विषय मात्रै बाँकीरहेको छ । पार्टी कामको सिलसिलामा कार्यदल सदस्य रहेका स्थायी कमिटी सदस्य योगेश भट्टराई २१ साउनमै उपत्यकाबाहिर जानुपरेकोले प्रतिवेदन बुझाउन नसकिएको बताइएको छ । भट्टराई उपत्यका फर्किसकेकोले केही दिनभित्रै कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरेको छ । सो कार्यदलमा भट्टराईसहित नेकपाकी स्थायी कमिटी सदस्य पम्फा भुसाल, गणेश बस्नेत र महेश्वर दाहाल रहेका छन् । सो संगठनमा २ सय २५ सदस्यीय केन्द्रीय कमिटी, १५ सदस्यीय केन्द्रीय कार्यालय र केन्द्रीय कमिटीको एकतिहाइ सचिवालय रहने तय गरिएको छ । यस्तै अध्यक्ष र महासचिव मात्र पदाधिकारी रहने निर्णय कार्यदलले गरेको छ । यस्तै १ सय २५ सदस्यीय प्रदेश र ३५ सदस्यीय जिल्ला कमिटी रहने टुंगो लागेको नेतृ भुसालले जानकारी दिइन् ।
किसान : अखिल नेपाल किसान महासंघ
कार्यदल : वामदेव गौतम, हरिबोल गजुरेल, केशवलाल श्रेष्ठ र चित्रबहादुर श्रेष्ठ । संगठनको नाम अखिल नेपाल किसान महासंघ राख्ने सहमति भएको कार्यदल सदस्य केशवलाल श्रेष्ठले जानकारी दिए । यस्तै गरी दुवै संगठनको १ सय ७५ जनाको दरले ३ सय ५० सदस्यीय केन्द्रीय कमिटी रहनेछ । राजनीतिक प्रतिवेदन सकिएको छ भने विधान प्रतिवेदन बाँकी रहेको छ । ५ भदौभित्र एकता गर्ने उनले बताए । नेतृत्वको विषयमा प्रवेश नै गरिएको छैन ।
महिला : साउनभित्रै एकता गृहकार्य
कार्यदल : राधा ज्ञवाली, गोमा देवकोटा, उर्मिला अर्याल र अमृता थापामगर
दुई महिला संगठनबीच साउनभित्रै एकता गर्ने गरी गृहकार्य भइरहेको छ । एकता गर्नका लागि चार उपसमिति गठन गरिएको अखिल नेपाल महिला संघका अध्यक्ष गोमा देवकोटाले जानकारी गराइन् । नेतृत्व, नाम, झण्डा र केन्द्रीय कमिटीमा रहने सदस्यको विवाद रहँदै आएको छ । दुवै अनेमसंघले आआफ्नो नाम, नेतृत्व र झण्डा दाबी गरिरहेको अध्यक्ष देवकोटाले जानकारी गराइन् । उनका अनुसार कार्यदलको बैठक आइतबार बसेर सहमति गर्ने प्रयास गरिनेछ । मिल्न नसकेका कुरा पार्टी नेतृत्वमा पठाइनेछ । चार उपसमितिले अझै प्रतिवेदन बुझाएका छैनन् । मजुदर : ६ महिना लाग्ने
कार्यदल : विष्णु रिमाल, जयपुरी घर्ती, विनोद श्रेष्ठ र गणेश रेग्मी
तत्कालीन एमालेको नेपाल ट्रेड युिनयन महासंघ (जिफन्ट) र माओवादी केन्द्रको अखिल नेपाल ट्रेड युिनयन महासंघ (अन्टुक) बीच एकता हुनका लागि कम्तिमा ६ महिना लाग्नेछ । मजदुर संगठन श्रम कार्यालयमा दर्ता हुने भएकोले तिनीहरूको दर्ता खारेज र एकता गर्नका लागि ६ महिना लाग्ने जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ बताए । महासंघअन्तर्गत २९ वटा संगठन भएकोले तिनीहरूको एकताका लागि समय लाग्ने उनले बताए । दुई मजदुर संगठनको एकताका लागि श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरिएको छ । अहिले कमिटीले २९ वटा संगठनको एकतामा लागेको छ । तिनीहरूको एकता सकिएपछि मात्र जिफन्ट र अन्टुकबीच एकता हुने उनले बताए ।
युवा : सबैभन्दा पछाडि
कार्यदल : मणि थापा, महेन्द्र पाण्डे, रमेश पौडेल र रामप्रसाद सापकोटा
युवा संगठनको विधान छलफलकै चरणमा भएकाले केही दिनभित्र तयार गरिने योङ कम्युनिस्ट लिग ९वाइसिएल० का अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार नेतृत्व, संगठनको नाम र केन्द्रीय कमिटी संख्या बाँकी रहेको छ । ती विषय सहमति गर्नका लागि कार्यदल छलफलकै क्रममा रहेको छ ।
विद्यार्थी : विधान टुंगियो, नाम–नेतृत्व बाँकी
कार्यदल रवीन्द्र अधिकारी, रमेश मल्ल, नविना लामा र रञ्जित तामाङ
एकताका लागि गठित तीन उपसमितिले कार्यदललाई प्रतिवेदन बुझाएको छ । अहिले ती उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल जारी रहेको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले जानकारी दिए । उपसमितिले प्रतिवेदन बुझाएपछि कार्यदलको बैठक बसी संगठनको नाम, नेतृत्व र केन्द्रीय कमिटी सदस्य टुंग्याउन बाँकी रहेको उनले बताए । संगठनको झन्डा एउटै भएकाले विवाद छैन ।
कलाकार : जनसांस्कृतिक महासंघ, ३१ साउनमा एकता
कार्यदल : मणि थापा, खगेन्द्र राई, प्रेमनाथ अधिकारी र सरल सहयात्री ३१ साउनमा एकता गर्ने तयारी रहेको कार्यदल सदस्य सरल सहयात्रीले जानकारी दिए । उनका अनुसार नाम जनसांस्कृतिक महासंघ तय भएको छ भने १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी रहनेछ । नेतृत्वको विषयमा सहमति हुन नसकेकोले पार्टीलाई जिम्मा दिने तर ३१ साउन अगावै सहमति गरिनेछ । यसैगरी जनजाति, मधेसी, भूतपूर्व सैनिक प्रहरी, अपांगता भएका व्यक्तिहरूको संगठन, भूमिहीन सुकुम्बासी, मुस्लिम, दलित, बुद्धिजीवी, पेसागत कर्मचारी, मानवअधिकार, खेलकुद, कानुन, उद्योगी व्यवसायी, प्रवासी मञ्चसँग सम्बन्धित जनसंगठनहरूले पनि एकता कार्यदलले काम अन्तिम चरणमा पु¥याएको छ ।
प्रदेश र जिल्ला एकता
प्रदेश एकीकरण रिपोर्ट प्रदेश १ (१४ जिल्ला) कार्यदल :भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले प्रदेश कमिटी : २०७ सदस्यीय पूर्वएमालेबाट १२२ र माओवादीबाट ८५ (टुंगिएको) प्रदेश अध्यक्षका दाबेदार : जगन्नाथ खतिवडा, राम कार्की, सावित्रीकुमार काफ्ले
अन्तिम तयारी : गृहकार्य अन्तिम चरणमा पुगेकाले दुई दिनभित्र प्रदेश संगठन कमिटीमा रहने सदस्यहरूको नाम टुंगो लगाएर सचिवालयलाई बुझाउने तयारी भइरहेको कार्यदल सदस्य भीम आचार्यले बताए । प्रदेश अध्यक्ष र सचिवका दाबेदारहरूको नामसहित प्रतिवेदन बुभाउने तयारी छ । प्रदेश कमिटी टुंगो लागेलगत्तै १४ जिल्लाको संख्या र नेतृत्वसहितको सिफारिस गर्ने तयारी छ । यीमध्ये तत्कालीन माओवादी केन्द्रले झापा, मोरङ र सुनसरीमध्ये एकसहित कम्तीमा चार जिल्लाको नेतृत्व दाबी गरेको छ ।
प्रदेश २ (८ जिल्ला) कार्यदल : सत्यनारायण मण्डल, विश्वनाथ साह, नागेन्द्र चौधरी र प्रभु साह प्रदेश कमिटी :२१५ सदस्यीय (५ प्रतिशत रिक्त राखिने) पूर्वएमाले र माओवादीबाट हाराहारी संख्या (टुंगो लाग्न बाँकी अध्यक्षका दाबेदार : नागेन्द्र चौधरी, शत्रुधन महत्तो, प्रभु साह, विश्वनाथ साह
अन्तिम तयारी : दुई दिनभित्र प्रदेश संगठन कमिटीको संख्या र नाम टुंगो लगाएर प्रतिवेदन बुझाउने तयारी भइरहेको कार्यदल सदस्य सत्यनारायण मण्डलले बताए । प्रदेश कमिटी र जिल्ला कमिटीमा समेटिने संख्या र नेतृत्व पनि हाराहारी नै हुने गरी छलफल चलिरहेको उनले जनाए । पूर्वएमालेले कम्तीमा पाँच र माओवादी केन्द्रले कम्तीमा चार जिल्लामा नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । तर, कार्यदल सदस्य मण्डलले एउटै पार्टी भइसकेपछि बाँडफाँडभन्दा पनि आवश्यकता र पार्टी हितलाई ध्यान दिएर कमिटीको संख्या र नेतृत्व टुंगो लगाउनेगरी समझदारी बन्दै गएको बताए ।
प्रदेश ३ (१३ जिल्ला) कार्यदल : अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, काशीनाथ अधिकारी र नारायण दाहाल प्रदेश कमिटी :२१७ सदस्यीय संख्या टुंगो लागिसकेको छैन । तर, पूर्वएमालेको जोड ६०÷४० र पूर्वमाओवादीको जोड ५५÷४५ को अनुपातमा प्रदेश कमिटी बनाउनुपर्नेमा छ । अध्यक्षका दाबेदार : पशुपति चौलागाईं, काशीनाथ अधिकारी, नारायण दाहाल
अन्तिम तयारी : कार्यदल सदस्यहरूले काठमाडौंसहित १३ भूगोलका जिल्ला र चारवटा विशेष जिल्ला कमिटीसहित १७ कमिटीको संख्या र नेतृत्व कसले लिनेबारे छलफल चलिरहेको छ । यसमा टुंगो लागेपछि मात्र प्रदेश कमिटी र जिल्लामा समेटिने नाम एकैपटक बुझाउने कार्यदलको तयारी छ । ‘हामी पहिले जिल्ला तहको संख्या र नेतृत्व सकभर सर्वसम्मत गर्ने कसरतमा छौँ,’ कार्यदल सदस्य अग्नि सापकोटाले भने, ‘तल टुंगिएलगत्तै तीन दिनभित्र प्रदेश कमिटी पनि टुंग्याउने गरी छलफल गरिरहेका छौँ ।’
अहिलेसम्म पूर्वमाओवादीले दोलखा र मकवानपुरको नेतृत्व पूर्वएमालेलाई छाडेको छ । सिन्धुली, रामेछाप, चितवन र रसुवासहित कम्तीमा चार जिल्लाको नेतृत्वमा माओवादीको जोड छ । रामेछापमा पूर्वएमालेबाट ६९ र माओवादीबाट ६६ जना रहेको जिल्ला कमिटी बनाउने सहमति भएको छ । अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा पूर्वमाओवादीले अनुकूलताका लागि जिल्ला अध्यक्षकै लागि बढी जोड गरेको छ । तत्कालीन एमालेका अध्यक्ष कृष्णभक्त पोखरेल सांसद रहेकाले पनि स्वाभाविक नेतृत्व पाउनुपर्ने माओवादीको दाबी छ । अन्य जिल्लामा छलफल जारी छ । प्रदेश ३ का सबै जिल्लामा तत्कालीन एमालेको बढी संख्या रहने गरी कमिटी बन्दै छ ।
गण्डकी प्रदेश (११ जिल्ला) कार्यदल : किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी अध्यक्षका दाबेदार : किरण गुरुङ, तुलबहादुर गुरुङ, हितराज पाण्डे, हरि अधिकारी प्रदेश कमिटी : १८७ सदस्यीय पूर्वएमाले र माओवादीबाट ६०/४० या ५५/४५ को अनुपातमा टुंग्याउने गरी छलफल
अन्तिम तयारी : २८ भदौभित्र प्रदेश संगठन कमिटी र ९ वटै जिल्ला कमिटीको नामावली केन्द्रमा पठाउन निर्णायक बैठक गरिने कार्यदल सदस्य जगतबहादुर विश्वकर्माले बताए । अहिलेसम्म मुस्ताङ, म्याग्दी र लमजुङ जिल्ला कमिटीको संख्या टुंगो लागेको छ भने कास्कीसहित बाँकी सबै जिल्लाको संख्या र नेतृत्वबारे दुवैतर्फका पाँच–पाँचजनाको कार्यदलले छलफल चलाइरहेको छ । पूर्वमाओवादीले कम्तीमा तीन जिल्लाको नेतृत्वमा दाबी गरेको छ ।
प्रदेश ५ (१३ जिल्ला) कार्यदल : शंकर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन प्रदेश कमिटी : २०३ सदस्यीय अध्यक्षका दाबेदार : दलबहादुर राना, मणि थापा, गणेशमान पुन
हाराहारी संख्यामा समावेश गर्ने गरी छलफल चलिरहे पनि अन्तिम टुंगो लागिसकेको छैन ।
अन्तिम तयारी : कार्यदल सदस्य मणि थापाका अनुसार २०३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमाले र माओवादीबाट हाराहारीको संख्या रहने गरी प्रदेश कमिटीको नाम टुंग्याउने अन्तिम तयारी भइरहेको छ । प्रदेशका १३ जिल्लामध्ये पूर्वी रुकुम, प्युठान, रोल्पा र बर्दियामा पूर्वमाओवादीले अध्यक्षको दाबी गरेको छ । पूर्वएमालेले रुपन्देही, पाल्पा, दाङ, गुल्मी, बाँके, अर्घखाँची र नवलपरासीलगायत जिल्लामा नेतृत्व दाबी गरेको छ ।
प्रदेश ६ (९ जिल्ला)
कार्यदल : युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा प्रदेश कमिटी : १७५ सदस्यीय पूर्वएमालेबाट ८७ र माओवादीबाट ८८ जना अध्यक्षका दाबेदार : मायाप्रसाद शर्मा, यामलाल कँडेल, गोरखबहादुर बोगटी, लक्ष्मी पोखरेल
अन्तिम तयारी : हाराहारी हैसियतमै प्रदेश र जिल्ला कमिटी बनाउने गरी संख्या टुंग्याएर कार्यदलले शुक्रबार प्रतिवेदन बुझाएको छ । प्रदेशको संख्या टुंगो लागिसकेकाले नेतृत्व मात्र टुंग्याउन बाँकी छ । प्रदेशका १० जिल्लामध्ये पछिल्लो निर्वाचनको जनमत र पार्टी सदस्य संख्याका आधारमा जिल्लाको नेतृत्व पाँच–पाँच हुने गरी टुंग्याउने तयारी छ । कार्यदलका सदस्य मायाप्रसाद शर्माले प्रदेशको संख्या टुंगो लागिसकेकाले जिल्लामा छलफल केन्द्रित भएको बताए । ‘सकभर तलै नेतृत्व पनि टुंग्याउने प्रयासमा छौँ, टुंगिएन भने पनि माथि सिफारिस गर्छौँ,’ शर्माले भने ।
प्रदेश ७ (९ जिल्ला) कार्यदल : भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी प्रदेश कमिटी १८३ सदस्यीय कमिटीमा कसको कति रहने भन्नेबारे छलफल चलिरहेको छ । अध्यक्षका दाबेदार : कर्णबहादुर थापा, लक्ष्मीदत्त जोशी
अन्तिम तयारी : कार्यदल सदस्य कर्ण थापाका अनुसार प्रदेश र जिल्लास्तरमा एकीकरणका लागि अन्तिम छलफल चलिरहेको छ । एक–दुई दिनभित्र प्रदेश कमिटी टुंगो लाग्ने उनले बताए । पूर्वमाओवादीले नौमध्ये चार जिल्लाको नेतृत्व दाबी गरेको छ ।










