श्रीमान-श्रीमतीबीचको शारीरिक सम्बन्धलाई सामाजिक वैधता प्राप्त छ। तर सँगसँगै यस्तो सम्बन्धका लागि कानूनी रुपमा दुवैको इच्छालाई महत्वपूर्ण मानिन्छ। नेपालको कानूनले श्रीमान र श्रीमतीबीच इच्छा बिपरितको शारीरिक सम्बन्धलाई कानूनले जबर्जस्ती करणी मान्दछ। पीडित महिला वा पुरुषले आफ्ना बलजफ्तीमा परेको जाहेरी दिए प्रहरीले कारवाही गर्नुपर्छ।
श्रीमानबाट बलात्कार भएको जाहेरी लिएर प्रहरी कार्यालय पुग्ने महिलाको संख्या बिस्तारै बढ्न थालेको छ। मादक पदार्थ सेवन गरेका बेलामात्र होइन, सुत्केरी भएको अवस्थामा समेत श्रीमानले आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै पीडित महिलाहरुले प्रहरीमा जाहेरी दिएका हुन्।
देशभरका प्रहरी कार्यालयमा चार वर्षमा ४२ जना श्रीमती आफ्ना श्रीमानबाट बलात्कृत भएको घटनामा प्रहरीले कारवाही गरेको तथ्याङ्क छ। आफ्नै श्रीमानबिरुद्ध श्रीमतीले बलात्कार मुद्दाको जाहेरी लिएर आएपछि प्रहरीले कारवाही थालेको छ। यस्तै, अदालतले समेत श्रीमानलाई सजायँ गरेका घटना छन्।
घटना बिश्लेषणका लागि बेग्लै डेस्क प्रहरी प्रधान कार्यालयले महिला हिंसा सम्बन्धी घटनाको अन्तर्य खोतल्न छुट्टै टोलीसमेत गठन गरेको छ। प्रहरी महानिरीक्षकको सचिवालय अन्र्तगत रहने गरी घटना बिश्लेषणका लागि टोली बनेको हो।
टोलीले आर्थिक वर्ष २०७४\०७५ मा भएका १५ हजार ४ सय ६८ घटनाको बिश्लेषण गरिरहेको छ। तिनमा १ हजार ४ सय ८० जबर्जस्ती करणी र ७ सय २७ करणी उद्योगका घटना समावेश छन्।
‘महिलासँग सम्बन्धित घटनाको बिश्लेषणबाट त्यसको रोकथामका लागि योजना बनाउने उद्देश्यले घटना बिश्लेषणको थालनी गरेका हौँ’ प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले भने, ‘बिश्लेषणका क्रममा केही नयाँ तथ्य बाहिर आएका छन्।’
उनका अनुसार मानव बेचबिखन, जर्बर्जस्ती करणी र करणी उद्योग, बहुविवाह, बालविवाह, गर्भपतन, जातीय छुवाछुत तथा महिला हिँसाका घटनाको बिश्लेषण भइरहेको छ।
‘केही तथ्यहरुले बेरोजगारी र अशिक्षालाई घटना बृद्धिको कारण भएको देखाउँछन्’ क्षेत्रीले थपे, ‘परिवारभित्र र परिवारकै सदस्यबाट हुने अपराध रोक्न बेग्लै रणनीति आवश्यक छ।’
७५ प्रतिशत पीडित र पीडक श्रीमान-श्रीमती प्रहरीले पहिलो चरणमा गरेको १२ हजार २ सय २५ घटनाको अनुसन्धान विश्लेषणमा ७५ प्रतिशतमा श्रीमान र श्रीमती पीडक–पीडित देखिएका छन्। यस्तै, महिला हिँसामा आउने उजुरीमा ५० प्रतिशत घटना मेलमिलापमा टुङ्गिने गरेका छन्।
यस्तै, पीडकहरुमध्ये ८४ प्रतिशत साधारण लेखपढ भएका, १६ प्रतिशत प्रवेशिका र त्यो भन्दा माथिल्लो तहको औपचारिक शिक्षा पाएका छन्। पीडित समेत ८५ प्रतिशत साधारण लेखपढ गर्ने र १५ प्रतिशत शिक्षित महिला हिँसाका शिकार भईरहेको तथ्याङ्कबाट देखिन्छ।
कृषि पेशा र गृहिणी महिला बढी पीडित प्रहरीमा दर्ता भएका १२ हजार २ सय २५ घटनामा ५२ प्रतिशत गृहणी महिला हिँसाको शिकार भएको देखिन्छ। यस्तै, करिब ५ हजार घटनाको विश्लेषणमा कृषिमा सकृय महिलाहरु परिवार र समाजबाट हिँसामा परेका छन्।
प्रहरीको तथ्यांक अनुसार मजदुरीमा सक्रिय ३ प्रतिशत महिला र कामकाजी ५ प्रतिशत महिला उपर हिंसा हुने गरेको हो।
‘शिक्षा र रोजगारीको महिला बिरुद्धका अपराधसँग सोझो सम्बन्ध देखियो। कामकाजी महिला उपर हिंसा कम भएको छ। हिंसाका पीडिक अशिक्षित र बेरोजगार बढि छन्,’ क्षेत्रीले भने।










