काठमाडौं । सांसद हृदयेश त्रिपाठीले कर विरुद्धको आन्दोलन शुरु भईसकेको भन्दै तत्काल कर वृद्धिको समस्या सम्बोधन नभए संघीयता खतरामा पर्ने चेतावनी दिनुभएको छ ।
स्थानीय सरकारले मनोमानि ढंगले कर लगाउने काम गरिरहेको भन्दै उहाँले त्यस तर्फ तत्काल गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उहाँले कर वृद्धिको समस्या सम्बोधन समयमै गर्न नसक्ने हो भने त्यसले संघियतालाई खतरामा पार्ने बताउनुभयो । स्याङजामा एक जना ज्योतिषलाई पनि २ हजार कर लगाईएको भन्दै उहाँले भन्नुभयो “
कुखुरा, परेवा जे देख्यो त्यसमा कर लगाईदिने ? हुदा हुदा अब मान्छे माथि कर लगाउने स्थिति आईसक्यो । यस विषयमा सरकार सचेत भएन भने कसै कसैलाई लागेको होला संघीयतालाई वद्नाम गर्नलाई यो पर्याप्त छ । तर संघीयता एक्लै अब घायल हुनेवाला छैन । कर विरुद्धको आन्दोलन शुरु भईसकेको छ ।
त्यस तर्फ ध्यान दिईएन भने संघीयता एक्लै मात्रै घायल हुनेवाला छैन अरु चिज पनि घायल हुनेवाला छन् । त्यसकारण सबैले आफ्नो आफ्नो इष्टदेवको फोटो लिएर रुनुपर्ने अवस्था आउला ।”
मनोमानी ढंगले कर थोपर्ने काम भईरहेको भन्दै उहाँले कर वृद्धिलाई आम जनताले निर्वाचनले दिएको उपहार भन्ने बुझ्न थालिसेकेको भन्दै उहाँले तत्काल यो समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले संघीयताको विफलता भन्दा पनि कर प्रणाली र कर शैलीको विफलता भएको भन्दै उहाँले कर वृद्धिको समस्या अबिलम्ब सम्बोधन गर्न सरकारसंग माग गर्नुभयो ।
उहाँले चिनी मिल मालिकहरुको अगाडि सरकार लाचार भएको आरोप पनि लगाउनुभयो । अझै पनि उखु किसानले सरकारद्धारा घोषित मुल्य पाउन नसकेको भन्दै उहाँले एक बर्ष देखि बांकी रहेको किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
साउन १८ गते बसेको मन्त्रीपरिषद् बैठकले उखुको न्युनतम समर्थन मुल्यमा परिर्वतन नगरे सम्मका लागि २०७५ जेठ १५ देखि लागु हुने गरि उखु उत्पादक किसानहरुलाई प्रति क्वीन्टल ६० रुपैया अनुदान दिने निर्णय गरेको थियो । जनता समाचार बाट










