काठमाडौँ: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले पाँच महिने उपलब्धी सार्वजनिक गर्नु स्वाभाविक भएको बताएका छन् । सरकारको पाँच महिने कामलाई अर्धवार्षिक परीक्षाको संज्ञा दिँदै यो अवधिलाई बहुमतको सरकारले उर्वर ढंगले सदुपयोग गर्न नसकेको दाबी गरे ।

‘उमंगले नाँच्ने बेला होइन यो ओली सरकारको, बरु सरकार चुकेको विषयमा गम्भीर ढंगले चिन्तन र आत्मसमीक्षा गर्नुपर्ने भएको छ’, उनले अन्नपूर्णसँग भने, ‘सिन्डिकेट पनि अधुरै रह्यो, होहल्लामात्र बढी भयो । समृद्धिको मानक भनिएको रेलको न सर्भे, न डिपिआर न लगानी कसले गर्ने भन्ने स्पष्ट भएको छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

३३ किलो सुन तस्करीमा सरकारकै एक मन्त्रीले ठुला माछा फेला पार्न बाँकी छन् भने पनि अझैसम्म नागरिकले देख्न नपाएको प्रवक्ता शर्माको भनाई छ । ‘राष्ट्रियताकै सवालमा प्रधानमन्त्री हुनुअघि र मोदी आउँदाका सन्दर्भले कमजोरी पुष्टि गरिसकेको छ’, उनले थपे, ‘अनावश्यक बखेडा झिकेर चिकित्सा शिक्षा विधेयकको लफडाले एक महिना गलफत्तीमै बित्यो, बंगलादेशका विद्यार्थीबारे गलत अभिव्यक्ति दिएर एक मन्त्रीले राजीनामै दिनुपर्‍यो ।’

प्रवक्ता शर्माले सरकारले मूल्यवृद्धि र लोकतन्त्रमा विपक्षीले गर्ने प्रदर्शन आदिमा पनि सही भूमिका निभाउन नसकेको आरोप लगाए ।