काठमाडौं– राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व बकर इदमा सार्वजनिक विदा दिन सरकारको पुनः ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मंगलबार बिहान प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउँदै बकर इदमा सार्वजनिक विदा दिन पुनः ध्यानाकर्षण गराएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेपछि गठबन्धनका नेताहरुले मुस्लिम समुदायले आफ्नो पर्व मनाउने अधिकार सुरक्षित गर्न पनि बकर इदमा विदा दिनुपर्ने माग गरेका थिए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले पनि बकर इदमा विदा दिने आश्वासन गठबन्धनका नेताहरुलाई दिएका थिए । प्रधानमन्त्री ओलीले बकर ईदमा सार्वजनिक विदा दिने आश्वासन दिएको राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका संयोजक शमीम मियाँ अन्सारीले जानकारी दिए ।

आगामी भदौं ६ गते बुधबार बकर इद पर्व पर्दछ । प्रधानमन्त्री ओलीले गठबन्धनका नेताहरुलाई बकर ईदमा एक दिन विदा दिने आश्वासन दिएका छन् । सरकारले बकर ईदमा दिने गरिएको सार्वजनिक विदा कटौति गरेपछि मुस्लिम समुदाय रुष्ट हुँदै आएका थिए ।

मुस्लिम समुदायले बकर ईदमा सार्वजनिक विदा नदिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिँदै आएका छन ।