२९ साउन – श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायीहरुलाई सरकारको नियम कानुनमा रहन चेतावनी दिएका छन् । उनले धरौटी रकम कुनै हालतमा नघटाउने अडान लिएका छन् । सोमबार मन्त्रालय पुगेका व्यवसायीहरुको टोलीलाई आफू कुनैपनि हालतमा धरौटी रकम घटाउन नसक्ने अडान कसेका छन् ।

मन्त्री विष्टले व्यवसायीलाई ‘तपाईँहरु कालीमाटीको साग पसलेजस्तो हुनुभयो, तपाईँहरुकै कारण कैयौं युवा अलपत्र पर्ने अवस्थासम्म आएको’ भन्दै हप्काएको मन्त्रालयका ती अधिकारीले बताए । म्यानपावर व्यवसाय सञ्चालन गर्न सरकारले धरौटी रकम बढाउने प्रस्ताव गरेपछि व्यवसायीहरुले त्यसको विरोध गर्दै प्रस्तावमा पुनर्विचार गर्न दवाव दिँदै आएका छन् । मन्त्रालयका ती अधिकारीका अनुसार धरौटी रकम घटाउन माग गर्दै मन्त्रीलाई भेट्न सोमबार वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा ४० जना मेनपावर व्यवसायी मन्त्रालय पुगेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्रीसँग भेट्न गएका एक व्यवसायीले ‘मन्त्री ज्यू हाम्रो अनुहार हेर्दिनुस् कति मलिन अनुहार लिएर आएका छौं भनेपछि त्यसको जवाफमा मन्त्री विष्टले ‘तपाईँहरु ४० जनाको अनुहार हेर्नुकी ४० लाख युवाको मलिन अनुहार हेर्नु ?’ भन्दै कडा प्रतिकृया जनाएका थिए ।