काठमाडौं : अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकताको प्रक्रिया अगाडि बढ्दै गर्दा नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। एकीकृत अखिलको अध्यक्षका लागि ऐन महर, रञ्जीत तामाङ र सुदेश पराजुली प्रतिस्पर्धामा उत्रिएका हुन्।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको विश्वास महरमाथि छ। नेकपाका अर्का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तामाङलाई अगाडि बढाउन चाहन्छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल पराजुलीको पक्षमा छन्। अर्का वरिष्ठ नेता झलनाथ खनालले समेत पराजुलीलाई नै रुचाएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महर अनेरास्ववियुको महासचिव हुन् भने तामाङ अखिल क्रान्तिकारीका अध्यक्ष हुन्। पराजुली भने अनेरास्ववियुको सचिव हुन्।

अखिल एकीकरणका लागि नेकपा केन्द्रीय कमिटी सदस्य तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी, अखिल अध्यक्ष नविना लामा, अखिल (क्रान्तिकारी) अध्यक्ष रञ्जित तामाङ र रमेश मल्ल सदस्य रहेको कार्यदल गठन भएको छ।

कार्यदलले भदौ ५ गतेसम्म एकीकरण गरिसक्नुर्ने गरी समय पाएको छ। एकताको खाकासहित उप–समितिले भदौ २३ गते प्रतिवेदन बुझाइ सकेको छ।

प्रतिवेदनमा संगठनको केन्द्रीय कमिटी बढीमा ४९९ सदस्यीय बनाउने र संयोजकसहित ९ सदस्यीय केन्द्रीय कार्यालय निर्माणको सिफारिस गरेको छ । अन्नपूर्ण पोस्ट बाट