पर्वत । स्वास्थ्य उपचार अत्यन्तै संवेदनशील बिषय हो । तर यसमा स्वास्थ्यकर्मीहरुबाट कहिलेकाही गम्भीर त्रुटी हुने गरेको छ । कुस्मा नगरपालिकामा पनि त्यस्तै भएको छ । स्वास्थ्यकर्मीले एक युवाको नभाँचिएको हात प्लाष्टर गरेका छन् । नगरपालिकाको वडा नम्बर ५ का बगैँचा चोकका १६ वर्षीय रोशन बरालको नभाँचिएको हात प्लाष्टर गरिएको हो ।
कुश्मा बजारमा रहेको राष्ट्रिय बाल शिक्षा सदन कक्षा ९ मा अध्ययनरत रोशन साउन १९ गते बिहान नुहाउन लाग्दा बाथरुपमा लडे । लडेकै कारण उनको हात दुखिरह्यो । बाथरुपमा लडेको भोलि पल्ट साउन २० गते आमा सीताले रोशनलाई जिल्ला अस्पताल पुर्याइन् । अस्पतालमा हातको एक्स रे गरियो । एक्सरेको रिर्पोटपछि जिल्ला अस्पतालमा कार्यरत चिकित्सकले कुहिनामा २ वटा हड्डी भाँचिएको जानकारी दिए , र प्लाष्टर गर्नुपर्ने बताए । चित्सिकको सुझाव अनुसार सीताले १ हजार ५ सय १५ रुपैयाँ खर्च गरेर छोराको हात प्लाष्टर गराइन । प्लाष्टर सकिएपछि चिकित्सकले भने, ‘२ वटा हड्डी भाँचिएको छ– एउटा जोडिन्छ तर अर्को नजोडिन पनि सक्छ, भन्न सकिन्न ।’
छोराको हात प्लाष्टर गरेर पैसा बुझाइसकेपछि डाक्टरले त्यसो भन्दा सीतालाई झन् चिन्ता लाग्यो । छोरा बुढेकालको सहारा । हातको हड्डी नै भने नजोडिएपछि कसरी काम गरी खाला ? अनि बुढौलीमा आफूलाई कसरी पाल्ला ? उनलाई छट्पट्टी भयो । उनलाई एकछिन त के गरौ कसो गरौ ? भयो । केहीबेरको चिन्तापछि मन शान्त पारिन् र फेरि अलि स्तरीय अस्पतालमा जचाउने निधो गरिन् ।
त्यसपछि छोरा रोशनलाई पोखराको फेवा सिटी अस्पताल पुर्याइन् । त्यहाँ हाडजोर्नी विशेषज्ञ दिनेश वि.कलाई देखाइन् । डा वि.कले रोशनको हात चेक जाँच गर्दै भने– नभाँचिएको हातमा किन प्लाष्टर गरेको ? फेवासिटीको चिकित्सकको त्यो भनाई सुन्दा सीता फेरि झसङ्ग भइन् । त्यति भन्दै डा वि.कले रोशनको हातमा लगाएको प्लाष्टर खालिदिए, अनि ४५ रुपैयाँ पर्ने औषधी किनेर लगाउन सुझाव दिए । सीता त्यसपछि छोरालाई लिएर घर फर्किन् । यो घटनाले उपचारमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट चरम लापरवाही हुने गरेको सार्वजनिक भएको छ ।जनता समचार बाट










