पुल बनाउँछु भन्दै मत माग्ने नेताले अब डुंगाबाट खोला तर्न बाध्य जनताबाट कर उठाउन थाले
स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका बेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्ने स्थानीयले अब उपमहानगरलाई कर तिर्नुपर्ने भएको छ ।
घाँस–दाउरा गर्न खहरे खोला तर्ने जनताबाट कर उठाउन उपमहानगरले ठेकेदारलाई जिम्मा दिएको छ । अब डुंगामा खोला तर्दा प्रतिव्यक्ति २५ रुपैयाँ, प्रतिसाइकलको १५, मोटरसाइकलको ३०, चौपायाको १५ रुपैयाँ र सामानको प्रतिबोरा १५ रुपैयाँ कर लिने गरी ठेक्का दिइएको छ ।
बर्खाको समयमा बाढी आउने ती खहरे खोलामा यसअघि स्थानीयले नै निजी डुंगा चलाउँथे । अब यसको आम्दानी उपमहानगरले लिने भएको छ । उपमहानगरपालिकाका लेखा अधिकृत लेखनाथ ओझाले एक खोला एक घाटको १२ हजार रुपैयाँमा ठेक्का भइसकेको र अरु प्रक्रियामा रहेको बताए ।
उपमहानगरपालिकाभित्र ३–४ वटा खोलाका एक दर्जन घाट छन्, प्रत्येक घाटमा ठेकेदार परिचालन हुनेछन् । यसरी सबै खोलाका सबै घाटमा उपमहानगरले डुंगा चलाए बढीमा एक लाख ४४ हजार हुन्छ । तर, यही आम्दानीका लागि पनि सर्वसाधारणबाट कर उठाउन थालिएको छ । जबकि, तिनै जनताको उन्नतिका लागि भनेर उपमहानगरपालिकाले एक अर्ब ७९ करोडको बजेट पारित गरेको छ ।










