दैलेख, दुल्लु — जुम्ला जिल्लाका ५५ वर्षीय हरिबहादुर बुढा नेपालगञ्जतर्फ हिँडेको छ दिन पुगिसक्दा पनि अझै कर्णाली राजमार्गअन्तर्गतको चामुण्डाविन्द्रासैनी नगरपालिकाको चिउरे खोलामै छन् ।

जुम्लामा खुद्रा तथा खाद्यान्न व्यापारका लागि सामान किन्न जान लाग्नुभएका उहाँले भन्नुभयो हिउँदको समयमा दुई दिनमै नेपालगञ्ज पुग्थेँे तर अहिले छ दिन भइसक्यो अझै दैलेखमै छु । समयसंगै खर्च पनि बढेको गुनासो गर्दै बुढाले भने“हिउँदमा रु तीन हजार खर्च गरेर नेपालगञ्ज पुग्थेँ तर अहिले यहाँसम्म आइपुग्दा रू दशहजारभन्दा बढी खर्च भइसक्यो ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कञ्चनपुरबाट कालिकोटतर्फ जानलाग्दा चिउरेखोलाको जाममा रोकिनु भएका रतन शाहीलाई पनि दैलेख आइपुग्नै चार दिन लाग्यो । उनी मात्र होइन, कोहलपुरबाट मुगु जान लाग्नुभएका मुगुका बिर्खबहादुर शाही पनि चिउरे खोलाको जाममा फसे । कालिकोटदेखि सुर्खेत जाँदै गरेका सवारी चालक केशव पुजालीले कर्णाली राजमार्गकै सडकमा १२ भन्दा बढी स्थानमा जाममा फस्नुपरेको बताए ।

मुगु निवासी चालक शाहीले प्रदेश सरकारले वर्षात्मा पनि निर्वाधरूपमा सवारी साधन सञ्चालनका लागि २० देखि ५० मिटरको दूरीमा जेसिभी र स्काभेटर राख्नुपर्ने सुझाव दिँदै भन्नुभयो, “सडकका दुर्दशा यस्तो हुनुमा सडक विभागको कमजोरी हो, कर्णाली प्रदेश सरकारले पनि बेवास्ता ग¥यो, यहाँ त मान्छे बोक्ने गाडीलाई नै मान्छेले बोक्नु प¥यो । ” कर्णाली राजमार्ग हुँदै दैलेख, कालिकोट, जुम्ला, बाजुरा, अछाम, हुम्ला, मुगु जिल्ला जाने यात्रुले सास्ती बेहोर्नुपरिरहेको छ । कर्णाली राजमार्ग अन्तर्गतको सांगेतडा, चिउरे खोला, पादुका बजारलगायतका दुई दर्जन बढी स्थानमा पहिरो गएको छ । बुधबार दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको चिउरे खोलामा गएको पहिरोका कारण बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म छ घण्टासम्म भएको जाममा करिव ३०० सवारी साधनका एक हजार ५०० यात्रु अलपत्र परेका थिए ।

सडक विभागबाट खटिनुभएका कामदार हर्क खड्काले कर्णाली राजमार्गमा दुईदर्जन भन्दाबढी स्थानमा पहिरो गएको बताए । दैलेखको आठवीस नगरपालिका–९छेपाडीका गणेश सिजापतिका अनुसार कर्णालीका धेरै जिल्ला जोड्ने कर्णाली राजमार्ग मात्रै प्रमुख मार्ग भएकाले प्रदेश सरकार र केन्द्र सरकारले पनि यसमा विशेष प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे । यसभन्दा अगाडि कर्णाली राजमार्गलाई ‘मृत्युमार्ग’ को रूपमा चिनिँदै आएको थियो । “अब मृत्युमार्गले चिनिँदै आएको राजमार्गमा यात्रुलाई सहजरूपमा आवातजावत गराउन पहल गर्नुपर्छ ।” उनले भने ।

सुर्खेतदेखि दैलेख हुँदै कर्णालीका विभिन्न जिल्ला पुग्ने उक्त राजमार्गमा कालोपत्रे भए पनि सडकमा सधैँ पानी जम्नु तथा सडकछेउका नाली माटोले भरिएर नियमित सरसफाइ र मर्मत सम्भार नहुनु मुख्य समस्या भएको यहाँका यात्रु बताउँछन् ।

रासस