काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ ।

चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक रु छ हजार ४६९ र महङ्गी भत्ता चार हजार ३ सय १२ गरी मासिक १० हजार ७ सय ८१ पारिश्रमिक तोकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा बिहिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै दैनिकरुपमा काम गर्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक २ सय ३१ र महङ्गी भत्ता १ सय ५४ गरी ३ सय ८५ रुपैयाँ पारिश्रमिक तोकिएको छ भने प्रतिघण्टा आधारभूत पारिश्रमिक ३१ र महङ्गी भत्ता २० गरी ५१ रुपैयाँ पारिश्रमिक तोकिएको मन्त्रालयका सहसचिव तथा श्रम सम्बन्ध महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारका लागि ४२ दैनिक भत्ता तोकिएको छ । सरकारले यसअघि नै अन्य क्षेत्रमा कार्यरत श्रमिकका लागि आधारभूत पारिश्रमिक आठ हजार ४ सय ५५ र महङ्गी भत्ता चार हजार ९ सय ९५ गरी मासिकरुपमा १३ हजार ४ सय ५० तोकिसकेको छ । यसैगरी उनीहरुले दैनिक ३ सय २५ आधारभूत पारिश्रमिक र १ सय ९२ महङ्गी भत्ता गरी कूल रु ५ सय ७१ तथा प्रतिघण्टा आधारभूत पारिश्रमिक ४३ र महङ्गी भत्ता २६ गरी ६९ रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

उक्त पारिश्रमिक मुलुकभरका सबै रोजगारदाता एवं प्रतिष्ठानमा कार्यरत श्रमिकका लागि यही भदौ १ गतेदेखि नै लागू हुने मन्त्रालयले जनाएको छ । श्रमिकले काम गरेबापत उचित पारिश्रमिक तथा सुविधा पाउने मौलिक हकलाई सुनिश्चित गराउन तथा श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ को प्रावधानबमोजिम मन्त्रालयले प्रत्येक दुई÷दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गरी न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रावधान छ ।

मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारणबाट व्यावसायिक वातावरणमा सुधार, असल औद्योगिक सम्बन्ध विकास र उत्पादन एवं उत्पादकत्व अभिवृद्धिमा टेवा पुगी समग्र आर्थिक विकास एवं समृद्धिका लागि सहयोग पुग्ने विश्वास लिएको छ ।

सहसचिव घिमिरेले श्रमिकले पाउने न्यूनतम पारिश्रमिक तथा अन्य वित्तीय सुविधा अनिवार्यरुपमा बैंक खातामार्फत भुक्तानी हुने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।