काठमाडौं : तत्कालीन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)बीच एकतामा सहमति जुटेको छ।
एकीकरणका लागि नेकपा केन्द्रीय कमिटी सदस्य तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी, अनेरास्ववियु अध्यक्ष नविना लामा, क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र रमेश मल्ल सदस्य रहेको कार्यदल गठन भएको थियो। सोही कार्यदलले एकतामा सहमति जुटाएको हो।
भदौ ५ सम्मको समय पाएको कार्यदलले त्यस अगावै सहमतिको खाका तयार पारेको हो। एकताको खाकासहित उप-समितिले साउन २३ गते प्रतिवेदन बुझाइ सकेको थियो।
सहमतिअनुसार ४९९ सदस्यीय केन्द्रीय कमिटी बन्ने छ। जसमा पूर्व अनेरास्ववियुबाट २६० र क्रान्तिकारीबाट २३९ जनाले प्रतिनिधित्व गर्नेछन्। संगठनको नाम अनेरास्ववियु नै रहने तर अब नामको अन्तिम अक्षर ‘यू’ दीर्घ लेखिने नेता दीपेश पुनले अन्नपूर्णलाई जानकारी दिए।
अंग्रेजी नाममा अनेरास्ववियुले Free र क्रान्तिकारीले Independent लेख्ने गरेकोमा अब एकीकृत नाममा Independent लेख्ने सहमति भएको नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।










