काठमाडौं । प्रतिनिधिसभाका विषयगत समितिका सभापतिको निर्वाचनका लागि सत्तापक्षले नै नाम टुंगो लगाउन नसक्दा निर्वाचनको मिति सरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले सभापति निर्वाचन १७ भदौमा हुने जानकारी गराए । राजधानी दैनिकमा समाचार छ ।

विशेष कारणले प्रतिनिधिसभा नियमावलीको नियम १७३ को उपनियम १ बमोजिम समिति सभापतिको निर्वाचन कार्यतालिका सारिएको सभामुख महराले जानकारी गराए । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले समितिका सभापति हुने व्यक्तिको नाम टुंग्याउन नसकेपछि निर्वाचन मिति सारिएको हो । संसद्को कार्य व्यवस्था समितिको बैठकमा समितिको निर्वाचन सार्ने विषयमा सत्तारुढ र विपक्षी दुवै पक्ष सहमत भएका हुन् । यसअघि ५ भदौ समितिको नेतृत्व चयन गर्ने मिति महराले नै तोकेका थिए । दलहरूकै परामर्शमा मिति तोकिएको तर उनीहरूले नै समय मागेपछि १७ गतेलाई सार्ने सहमति भएको सचिवालयले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सभामुख महराले समितिको सभापति निर्वाचनसम्बन्धी संशोधित सूचना प्रकाशित गर्न प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्देशनसमेत दिए । यसअघि सभापतिको निर्वाचन भाद्र ५ गते मंगलबार ११ बजेका लागि तोकिएको थियो ।