अभियोग १ : नेकपाको प्रवक्ता पदबाट उत्तेजनामा राजीनामा दिनुभयो । नेताहरूले फकाएजस्तो गरेपछि भूमिकामा फर्कन तयार हुनुहुन्थ्यो । तर, पत्रिकामा समाचार आएपछि तपाईंलाई दबाब भयो । त्यसैले मिडियामा समाचार आएपछि दुःखी हुनुहुन्छ ।
हिलो कुरा त उत्तेजनामा आएर राजीनामा दिएको भन्ने नै सही होइन । पार्टीभित्र जुन प्रकारका दृष्टिकोण, विचारहरूका बीचमा बहस भयो, त्यसैका बीच मैले राजीनामा दिएको हुँ । त्यसकारण उत्तेजित भएर आवेगमा आएर राजीनामा दिएको भन्ने कुरा सत्य होइन । दोस्रो, राजीनामा दिएपछि १० दिनसम्म सुनसान नै थियो, चुपचाप नै थियो । यसबीचमा कसैले मलाई राजीनामा फिर्ता लिनुपर्छ भनेर कुरा गरेको र मैले त्यस्तो मनस्थिति बनाएको पनि होइन । १० दिनपछि जब यो घटना सार्वजनिक भयो, त्यसपछि फर्कने मनस्थिति बनाएको भन्ने कुरा पनि सम्पूर्ण रूपले गलत हो ।
हो, घटना सार्वजनिक भएपछि मात्रै पार्टीभित्र छलफल भयो, योचाहिँ सत्य हो । त्यसपछि विभिन्न प्रकारका जिज्ञासा आए, सार्वजनिक रूपमा पनि बहस भए । त्यसबीचबाट घटनाक्रम अगाडि बढेको सही हो । तर, उत्तेजनामा आएर राजीनामा दिएको पनि होइन, मेरो मनस्थितिमा परिवर्तन आएको पनि होइन । राजीनामा दिनेवेलामा जस्तो मनस्थितिमा थिएँ, अहिले पनि त्यस्तै मनस्थितिमा छु ।
अभियोग २ : प्रचारमा रमाउनुहुन्छ । मिडियामा आउन जस्तासुकै हतकन्डा पनि अपनाउनुहुन्छ । पहिलो संविधानसभा विघटन हुने भयो भनेर २ दिनअघि नै प्रधानमन्त्रीनिवास बालुवाटारबाट निस्केर पत्रकारका अगाडि आँसु खसाल्नुभयो । तत्कालीन एमाले नेता माधव नेपालले त ग्लिसिरिन लगाएर आँसु निकालेको भन्दै कटाक्षसमेत गर्नुभयो ।
माधव कमरेडले त्यस्तो भन्नुभयो भन्ने कुरा सत्य होइन, सरासर झुठो हो । मलाई बुझ्नेहरूले तपाईंले भनेजसरी बुझदैनन् । म कर्ममा विश्वास गर्ने मान्छे हुँ । अर्काले के भनिदेलान् भन्ने आधारमा म काम गर्दिनँ । र, त्यस आधारमा आफ्नो कर्म निर्धारण पनि गर्दिनँ । त्यसकारण म सत्कर्ममा विश्वास गर्छु । प्रचारलाई महत्व दिन्नँ । तर, सही काम ठिक ढंगले जनतामा संप्रेषित हुनुपर्छ भन्ने ठान्छु । त्यसले सकारात्मक प्रभाव पार्छ ।
जहाँसम्म तपाईंले लगाएको आरोप छ, त्यो त सोह्रै आना गलत हो । त्यो ०५९ जेठ १२ को घटना हो । १४ गते पहिलो संविधानसभा विघटन भएको हो । त्यसवेला विभिन्न ढंगले प्रयत्न गर्दै हामीले संविधानसभाको कार्यकाल ४ वर्षसम्म तान्यौँ । तर पनि संविधानसभाबाट संविधान बन्ने सवालमा विभिन्न प्रकारका जटिलता, अवरोध भइ नै रहे बाह्य रूपमा, आन्तरिक रूपमा, राजनीतिक प्रवृत्तिगत रूपमा । अहिले यो विषयमा लामो व्याख्या गर्न चाहन्नँ । यस्ता तमाम अवरोध र जटिलताका कारण संविधान घोषणा गर्न अप्ठ्यारो स्थिति आयो ।
जब सर्वोच्च अदालतले ‘संविधानसभाको आयु अब थपिने स्थिति छैन’ भन्यो, त्यसपछि हामी हरहालतमा संविधान जारी गरेर जाऔँ भन्नेमा लाग्यौँ । संविधानसभाबाट औपचारिक रूपमा घोषणा गरौँ, पछि व्यवस्थापिका संसद्का रूपमा त्यही संविधानसभा कायम हुन्छ र त्यहाँबाट आवश्यक परिमार्जन गर्दै वास्तविक संविधान बनाऔँला भनेर योजना बनायौँ । वा, सकिन्छ भने त्यसभन्दा अगाडि नै सबै विषयमा सहमति जुटाएर संविधान घोषणा गरौँ भन्नेमा लागेका थियौँ ।
तर, मैले जब १२ गतेसम्मका सबै प्रवृत्तिको छलफल नजिकबाट हेरेँ, त्यसबाट म यसपटक संविधानसभा बच्दैन, विघटन हुन्छ भन्ने निष्कर्षमा पुगेँ । त्यसदिन म पार्टीहरूबीच दिनभरि भएको छलफललाई मिडिया ब्रिफिङ गर्छु भनेर पत्रकारका अगाडि आएको थिएँ । बोल्दै जाँदा ‘यसपटक संविधानसभा विघटन हुँदै छ, बचाऔँ’ भन्ने भावमा प्रस्तुत हुन पुगेछु । र, एकप्रकारले मेरो भावना त्यतिवेला बाहिर प्रकट भयो । भएको त्यत्ति हो । त्यतिवेला मलाई विभिन्न पार्टीका मान्छे, नागरिक समाज, बौद्धिक सर्कलले पनि ‘तपाईंले सधैँ सही–सही नै विश्लेषण गर्नुहुन्थ्यो, तपाईंका राजनीतिक निष्कर्ष आएपछि यस्तै हुन्छ कि भन्ने लाग्थ्यो ।
तर, यसपटक १२ गते नै १४ गते संविधानसभा विघटन हुन्छ भन्नुभयो, दलहरूले जसरी पनि जोगाइहाल्छन् नि यसलाई । यसपटकचाहिँ तपाईंले गलत बोल्नुभयो’ भनेर भन्नुभयो । तर, अन्ततः १४ जेठको राति संविधानसभा विघटनको अवस्थामा पुग्यो । त्यसकारण म कुनै पनि कुरा सत्य हो कि होइन, ठिक हो कि होइन भन्ने आधारमा विचार प्रकट गर्छु, अरू कुनै कुरालाई म ध्यान दिन्नँ । यो विषयमा माधव कमरेडले त्यस्तो टिप्पणी गर्नुभयो भन्ने कुरा त म दोहो-याएर गलत हो भन्छु ।










