प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान धर्मशास्त्र नभएकाले आवश्यकताअनुसार संशोधन हुने बताएका छन् । आफूले कहिल्यै संविधान संशोधनविरुद्ध नबोलेको उनले दाबी गरे ।
प्रधानमन्त्री ओलीले शनिबार प्रदेश सभालाई सम्बोधन गर्दै आफ्ना बारे अफवाह फैलाइएको बताए । ‘संविधान संशोधन हुँदैन भनेर मैले कहिल्यै भनेको छैन, यो अफवाह हो,’ ओलीले भने, ‘म ५० वर्षदेखि सक्रिय रूपमा राजनीतिमा लागेको व्यक्ति संविधान, कानुन, विधान परिर्वतन हुँदैन कसरी भन्न सक्छु ? संविधान कुनै धर्मशास्त्र होइन, दस्तावेज हो, देश र जनताको हितका लागि परिर्वतन गर्न सकिन्छ ।’
उनले प्रदेश २ को विकासका लागि आफूले विशेष जोड दिने बताए । प्रदेशको कृषि र उद्योगलाई मात्रै व्यवस्थित गर्न सके समृद्धि हासिल हुने उनले बताए । ‘तपाईंहरू प्रदेशलाई समृद्ध बनाउने योजना ल्याउनुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रदेश सरकारले स्पष्ट योजना बनाएर दिए संघीय सरकार सहयोग गर्न तयार छ ।’
ओलीले देशमा २१ प्रतिशत गरिबीको रेखामुनि रहे पनि प्रदेश २ मा भने यो संख्या अझै ४२ प्रतिशत रहेको बताए । मुलुकका २६ प्रतिशत जनताको शौचालयमा पहुँच भए पनि प्रदेश २ का ७४ प्रतिशत जनताको घरमा शौचालय नभएको उनले जानकारी दिए । ओलीले भने, ‘यो लाजमर्दो अवस्था कसरी आयो ? यी विषयमा चिन्ता गर्नुपर्ने समय यही हो ।’










