नेपाल कम्युनिष्ट पार्टीको ७ नम्बर प्रदेश कार्यदलले नेतृत्व छनौटको लागि प्रतिवेदन बुझाएको छ । पूर्वमन्त्रीहरु भीम रावल, लेखराज भट्ट, कर्णबहादुर थापा र लक्ष्मीदत्त जोशी सदस्य रहेको कार्यदलले प्रतिवेदन बुझाएको हो ।
प्रदेश ७ मा नेकपाको आन्तरिक सहमति अनुसार अध्यक्ष एमाले र सचिव माओवादी पक्षको भागमा परेको छ । कार्यदलले अध्यक्षको लागि एमाले पक्षधर पूर्वमन्त्री थापा र सचिवमा माओवादी केन्द्र पक्षका लक्ष्मी जोशीको नाम सिफारिस गरेको कार्यदलको एक सदस्यले बताए ।
कार्यदलले पदाधिकारीमा नाम सिफारिस गरे पनि इन्चार्जको टुंगो भने लगाएको छैन । दुई अञ्चल र ९ जिल्ला रहेको प्रदेश ७ मा ५ जिल्लाको नेतृत्व एमाले पक्षको भागमा परेकोे छ । माओवादी पक्षले ४ जिल्लाको नेतृत्व गर्ने अवसर पाएको छ ।
कार्यदलले बुझाएको प्रतिवेदनमा प्रदेश कमिटी १ सय ८३ सदस्यीय हुने उल्लेख छ । त्यस मध्ये एमाले पक्षबाट एक सय र माओवादी पक्षबाट ८३ जनालाई प्रतिनिधित्व गराउने सहमति भएको छ ।










