काठमाडौँ, भदौं ४ । काठमाडौंको थापाथलीस्थित घरभित्रै फ्रान्सका लागि नेपालका पूर्व राजदूत ८० वर्षीय केशवराज झालाई छुरी प्रहार गरी हत्या भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार उनलाई बिहान घरभित्र मृत अवस्थामा फेला पारिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डिएसपी थापाका अनुसार उनको टाउकोमा छुरी प्रहार भएको चोट देखिन्छ । उनको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लैजाने तयारी भइरहेको छ।

सिंहदरबार वृतका प्रमुख डिएसपी काजीकुमार आचार्यका अनुसार घटनाबारे बिहान साढे ६ बजे परिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । झासँगै उक्त घरमा उनको श्रीमती तथा कामदार बस्ने गरेका थिए ।

थप अनुसन्धानका लागि घटनास्थलमा महानगरीय प्रहरी अपराध महाशाखाको टोली पनि पुगेको छ ।

पराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल रहेर काम गरेका झा फ्रान्सको राजदूत भएसँगै सहसचिव पदबाट सेवा निवृत्त भएका हुन्।

उनी विश्व सम्बन्ध परिषदको अध्यक्ष समेत रहेर काम गरेका थिए।

घटनाको थप विवरण आउन बाँकी रहेको छ।

कान्तिपुरबाट