अर्धभूमिगत नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई अधिकतम १० वर्ष जेल सजाय हुने मुद्दामा प्रहरीले जिल्ला अदालत काभ्रे पुर्याएर म्याद थप गरेको छ ।
काठमाडौंमा चन्दा उठाएको आरोपमा मुद्दा चलाएकोमा काभ्रे प्रहरीले अधिकतम १० वर्षसम्म जेल सजाय हुने संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत दफा ७ अनुसार विस्फोटक पदार्थ प्रयोग, हातहतियार प्रयोगबाट केही विध्वंश गराएको अभियोगमा थप तीन दिन म्याद थप गरेको हो । यसअघि पनि तीन दिन म्याद थप गरेको काभ्रे प्रहरीले सोमबार पुनः तीन दिनको म्याद थप गरेको हो । उक्त अभियोग प्रमाणित भएमा न्यूनतम ३ वर्ष देखि १० वर्षसम्म जेल सजायको व्यवस्था रहेको छ ।
गत वैशाख १ गते जिल्लाको नमोबुद्ध नगरपालिका ६ मा रहेको ब्लुसाइन स्टोन क्रसर उद्योगमा विस्फोटक पदार्थले उद्योग पूर्ण रुपमा क्षति र्पुयाइएको थियो । चारवटा ट्रिपर, दुईवटा स्काभेटर र एउटा जेसीबी पूर्णरुपमा क्षतिग्रस्त बनाइएको थियो । सो अभियोगमा प्रहरीले यस्तो मुद्दा लगाएको हो ।
यसैबीच, सर्वोच्च अदालतले दोस्रो पटक नेकपाका प्रबक्ता प्रकाण्डलाई २४ घण्टाभित्र पक्राउ गर्नुको कारण तथा बन्दीसहित उपस्थित हुन आदेश दिएको छ । सोमबार न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजलासले यस्तो आदेश दिएको अभिवक्ता एकराज भण्डारीले दृष्टिन्यूजलाई बताए ।
यसैबीच, जिल्ला अदालत भक्तपुरले धरौटीमा रिहाइ गर्न आदेश दिएको नेकपाका केन्द्रीय सदस्य आजादलाई प्रहरीले पुनः प्रकाउ गरेको छ । उनलाई कुनै अर्को अभियोग लगाएर प्रहरीले म्याद थपको प्रयास गरिरहेको जनाइएको छ । दृष्टि न्युज बाट










