प्रधानमन्त्री केपी शर्मा ओलीले अब पनि समस्या छ भनेर बस्ने अवस्था नरहेको भन्दै समस्यालाई सम्पत्तिका रुपमा उपयोग गर्न लागिपर्न सबैमा आह्रवान गर्नुृभएको छ । ‘आवश्यकता, दृष्टिकोण र प्रतिबद्धताले नै अगाडि बढ्न सकिन्छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘अब पनि समस्या छ भने अर्कालाई गाली गरेर बस्ने अवस्था छैन ।’
प्राकृतिक स्रोतसाधनले सम्पन्न नेपालले त्यसको अधिकतम उपयोगबाट दुनियाँले नपत्याउने गरी छोटो समयमै विकासमा ठूलो फड्को मार्न सकिने बताउँदै उहाँले बढ्दो व्यापार घाटा कम गर्ने, आयात प्रतिस्थापन गर्ने, रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर हुने क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको २०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट निस्केको ग्यास पाइपलाइनबाट पहिलो चरणमा नजिकका ३२ घरमा ग्यास वितरण अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले अघिल्लो पटकको कार्यकालमा प्रधानमन्त्री ओलीले घरघरमा ग्यास लगिने प्रतिबद्धता ब्यक्त प्रतिद्धता पूरा गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले सानो क्षमताको भए पनि सो परियोजना नेपाललाई ऊर्जामा आत्मनिर्भरताका साथ समृद्धिको यात्राको थालनी भएको उल्लेख गर्दै यसलाई मुलुकभर विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘आज यहाँका ३२ घरका जनतालाई काँधमा सिलिण्डर बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सिलिण्डरको बिदाइ भएको छ । यसलाई अभियानकै रुपमा देशैभर विस्तार गरी ऊर्जामा आत्मनिर्भर बन्नु अबको आवश्यकता हो ।’
बायोग्यासबाट उत्पादित ग्यास एलपिजीभन्दा २० प्रतिशत सस्तो हुनाका साथै जोखिमरहित, वातावरणमैत्री र यसबाट प्राङ्गारिक मल निस्कने तथा त्यसले रासायनिक मल पनि प्रतिस्थापन गर्ने भएकाले सो प्रविधिलाई सरकारले प्रोत्साहन गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले गौसेवा सदनको हाताभित्र एक मेगावाटको सौर्य प्रणाली राख्न सकिने धारणा पनि राख्नुभयो ।










