दमक÷देशभर स्थानीय तहले कर बढाएको भन्ने गुनासो आइरहेको वेला मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिकाले कर घटाएको घोषणा गरेको छ ।

नगर पालिकाको विशेष नगरसभाले नगर भित्र लागु गरेको कर घटाएको घोषणा गरेको हो । आज नगरपालिकाको आयोजनामा भएको पत्रकार सम्मेलन मार्फत नगरले १५ देखि ७५ प्रतिशतसम्म विभिन्न शीर्षकको कर घटाएको जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सम्मेलनमा बोल्दै नगरपालिकाका मेयर खड्ग फागोले जन प्रतिनिधिहरु भनेको जनहितमा काम गर्ने भएकोले नगरबासीका नागरिकको हितलाई मध्यनजर गरी नगरसभाबाट कर घटाएको बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद कोइरालाले नगरसभाबाट हतारमा पारित गर्दा कर सम्बन्धी केही कम्जोरी भएकोले सोलाई सुधार गर्दै कर घटाउने काम गरेको बताउनु भयो । कर घटाउँदा यस अघि काटिएको कर समेत नागरिकलाई फिर्ता गर्ने प्रवन्ध मिलाउने बताउनु भयो । कर घटाउँदा बार्षिक करिव ६० लाख कर कम हुने बताइएको छ ।

नगरले सम्पतिकरमा १२ देखि ५० प्रतिशत, सिफारिस दस्तुरमा १२ देखि ६६ र नगर भित्र संचालित ३६ प्रकारका व्यवसायमा १७ देखि ७५ प्रतिशतसम्म घटाएको मेयर फागोले बताउनु भयो । व्यक्तिगत घटना जन्म,मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद ३५ दिन भित्रमा निशुल्क गरिने र म्याद नाघेमा रु ५० मात्र लिने नीति बनाएको मेयरले बताउनु भयो । यस अघि सो कर १ सय ५० तोकिएको थियो ।

यस्तै पत्रकार सम्मेलनमा नागरिकको हित ध्यान दिँदै टोल फ्रि नम्बर समेत राखिएको बताउनु भयो ।