काठमाडौं– नेपाल विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालय समितिले त्रिविका प्राध्यापकहरुले ठूलो आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
बुधबार नेपाल विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालय समितिले पत्रकार सम्मेलन गरेर युएसएआईडीमार्फत मानवशास्त्र संकायका प्राध्यापकहरुले ठूलो आर्थिकसँगै नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
नेविसंघ त्रिभुवन समितिका सभापति हरि आचार्यले विदेशी अनुदानबाट आएको करोडौं रुपैयाँ अनुसन्धानमा खर्च नगरेर त्रिविका कर्मचारीहरुले आफ्नो खल्तीमा हाल्ने गरेको आरोप लगाए ।
उनले भने,‘हाम्रो मान्यता त्रिविका सम्पूर्ण विभागहरु विद्यार्थीको हित र पक्षमा बन्न सक्नुपर्छ भन्ने हो । अध्ययन अनुशन्धानमा विभागहरु क्रियाशील हुनुपर्छ भन्ने हो । तर, त्रिविको लोगो र स्ट्यामसमेत दुरुपयोग गरी अनाधिकृत रुपमा कार्यालय खडा गरेर वार्षिक लाखौं रकम बुझ्ने गरेका छन् ।’
उनले भने,‘त्रिविका भीसी, रेक्टर र रजिष्ट्रारसमेत यस कार्यमा संलग्न छन् भन्ने हाम्रो आशंका छ, नत्र त्रिविको लोगो र स्ट्याम कसरी दुरुपयोग भयो ? विदेशी प्रोजेक्टलाई त्रिविको विधानभित्र रहेर क्रियाकलापहरु गर्न पाईने भनिएको छ, तर युएसएआईडीसंग मिलेर यस्तो काम भएको छ, त्रिविका कार्यकारी पदाधिकारीहरुको अनुमतिविना यो काम कसरी भयो ? कति आर्थिक दुरुपयोग भयो ? त्यसका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बोल्नुपर्छ ।’
आफूहरुले मानव संकाय प्रमुख प्रा.डा.लयप्रसाद उप्रेतीलाई यसबारेमा छलफल गरौं भनेर आग्रह गर्दा उनले मानव शास्त्रको विभागीय प्रमुखको जिम्मेवारीबाट राजिनामा दिएको उल्लेख गर्दै आचार्यले भने,‘राजिनामा दिएर पन्छिन मिल्दैन् । त्यो समाधान होईन्, त्रिविलाई राम्रो र हाम्रो बनाउने हो भने त्रिविका कार्यकारी पदमा रहेका विशिष्ट व्यक्तिदेखि कर्मचारीसम्मले सच्चिनुपर्छ, यो नेविसंघको माग हो ।’रातो पाटी बाट










