लगतार २० दिन देखि दमक नगरपालिका वडा नं. ३ उत्तरी क्षेत्र दुम्से गाऊँमा जंगली हात्तीले दुःख दिने गरेपछि स्थानीय बासिन्दाहरुले हात्ती धपाउँन गुहार मागेका छन् ।

हात्तीले रातको समयमा नजिक रहेको घना जंगल हंसेदुम्से सामुदायिक बनबाट निस्केर गाऊँ पसी घर भत्काइ अन्न बाली खानथाले पछि स्थानीय बासिन्दाले गुहार मागेका हुन् । हात्तीले हालसम्म बलबहादुर कार्की, आइतमाया तामाङ, राम बोहोरा र नरदेवी तामाङको घरको बेरा तथा झ्याल भत्काएर अन्न खाएको स्थानीय अगुवा दलबहादुर राईले बताउनु भयो । राईका अनुसार हात्ती खेदाउने साइरन बजाउँदा समेत हात्तीले नटेरे पछि नगरपालीकाले राँको बाल्ने मट्टितेल र जनशक्ति सहयोग गरे राहत मिल्ने बताउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हात्तीलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा गाऊँलेहरु भेला भएर छलफल समेत गर्न थालेका छन् । साँझ परे पछि हात्ती गाऊँ पस्ने भएकोले जंगल नजिकको बाटोमा भेला भएर आगो बाल्ने, राँको सल्काएर हात्ती खेद्ने काम दैनिकी जस्तो बन्न थालेको स्थानीय पीडित तारा खड्काले बताउनु भयो । हात्ती खेद्नका लागि दैनिक राती जाग्रम बस्नु पर्ने अवस्था आएको अर्का स्थानीय बासिन्दा नेत्रप्रसाद अधिकारीले बताउनु भयो ।