(तुलसीप्रसाद निरौला) बिर्तामोड । झापा कनकाई नगरपालिका–१ जामुनबारीकी ४६ वर्षीया उषा ओलीलाई अहिले २६ जनाले आमा भन्छन् ।

सानैदेखि समाजसेवामा रुची राख्ने उनी काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१मा लवप्रसाद सुधार संघ ९लवप्रसाद बालगृह० सञ्चालन गरेर त्यहाँ २५ जना अनाथ असहाय बालबालिकाहरुको संरक्षणसहित अभिभावकत्व ग्रहण गरिरहेकीछिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफ्नी एक छोरी समेत रहेकी उनलाई अहिले २६ सन्तानकी एक्ली आमाभन्दा फरक पर्दैन । २०६६ सालमा लवप्रसाद सुधार संघ ९लवप्रसाद बालगृह० संस्था सञ्चालन गरेर २०६७ सालदेखि उनी अनाथ र शारीरिक रूपमा कमजोर बालबालिकाको संरक्षणमा जुटेकी हुन् । काठमाडौंको सुन्दरी जल नजिकै रहेको खगेन्द्र नवजीवन केन्द्रमा २०६४ सालदेखि क्यान्टिन सञ्चालन गर्दै आएकी उषाले त्यहाँबाट कमाएको पैसालाई सामाजिक कार्यमा लगाएकी छन् । उनले क्यान्टिन सञ्चालनबाट भएको आम्दानीले २५ जना चेपाङ समुदायका अनाथ, असहाय बालबालिकाहरुलाई भरणपोषण गर्दै आएकी छिन् । उनले ती बालबालिकाहरुलाई काठमाडौंको सुन्दरीजलमा रहेको ओख्रेनी माविमा समेत पढाउँदै आएकी छिन् ।

२०६६ सालमा संस्था स्थापना गरेर चितवनमा स्वास्थ्य शिविर सञ्चालन गर्न पुगेकी उषाले शिविरमा आएका कुपोषण समेत भएका चेपाङ समुदायका अनाथ, असहाय, बालबालिका देखेपछि उनीहरुलाई संरक्षण गरी पढाउन कम्मर कसेर लागीपरिन् । झापा कनकाई–१ जामुनबारी निवासी पिता लवप्रसाद ओलीले गरेको सामाजिक कार्यलाई पछ्याउँदै आफू पनि सामाजिक कार्यमा लागीपरेको उनले बताइन् । लवप्रसाद ओली झापाका प्रतिष्ठित प्रधानाध्यापक हुन् भने गायक पनि हुन् । पिताको निधनपछि उनले गरेको सामाजिक कार्यबाट प्रभावित भएर संस्था स्थापना गरी बालबालिकाको संरक्षणमा जुटेको उनले बताइन् । आफूले क्यान्टिन चलाउँदै आए पनि त्यसबाट थोरै रकम बचत हुने र जसले घर खर्चका साथै ती बालबालिकाहरुको संरक्षण गर्न कठिन भए पछि उनले ती बालबालिकाहरुलाई खुवाउन र अन्य आवश्यक सामग्री जुटाउन अरूसँग सहयोग समेत मागिन् । तर, न उनलाई कुनै संघ–संस्थाले सहयोग गरे न त सरकारी बजेट नै प्राप्त भयो । तर, पनि उनले हरेश खाइनन् । चितवनको लोथार, शक्तिखोर लगायतका स्थानमा रहेका चेपाङ समुदायका ती बालबालिकाहरुलाई सहज र शान्त वातावरणमा हुर्काउन उनी लागीपरेकी छिन् ।

अहिले संस्थागत रूपमा बालबालिकाको उद्धारमा लागेकी उषाको संस्थामा अहिले तीन वर्षदेखि १३ वर्षसम्मका चेपाङ समुदायका बालबालिकाहरु रहेका छन् । चेपाङ बालबालिकाहरुसँगै दुईजना जनजाति र एकजना तराई मुलका बालबालिका पनि रहेका छन् । खगेन्द्र नवजीवन केन्द्रमा क्यान्टिन चलाउँदा त्यसबाट प्राप्त आम्दानीले बालबालिकाको संरक्षण गर्दै आएकी उषालाई पछिल्लो समय आर्थिक समस्याले गर्दा बालबालिकाको संरक्षण गर्न समेत कठिन भएको छ । खगेन्द्र नवजीवन केन्द्रमा पहिले एक्लै क्यान्टिन चलाउँदै आएकी उनी त्यहाँ अन्य दुईवटा क्यान्टिन थपिएपछि आफ्नो व्यवसायमा मन्दी आएको र बालबालिकाको संरक्षण गर्न आर्थिक समस्या भएको उनले बताइन् । कुनै संघ–संस्था र सरकारबाट समेत आफ्नो संस्थाको लागि सहयोग प्राप्त नभएपछि उनले आर्थिक समस्याकै कारण सबैसँग सहयोगको अपिल समेत गरेकी छिन् ।

यसैबीच लवप्रसाद सुधार संघ ९लवप्रसाद बालगृह० लाई बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच आर्थिक सहयोग गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको पहलमा बिर्तामोडका व्यवसायीहरुबाट स्वस्फूर्त रुपमा संकलित एक लाख रुपैयाँ शुक्रबार आयोजित कार्यक्रमकाबीच संघकी अध्यक्ष समेत रहेकी उषा ओलीलाई हस्तान्तरण गरिएको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षता तथा नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि थापाले झापाली नारीले आफ्नो खुशीलाई त्यागेर निःस्वार्थ सामाजिक कार्यमा सक्रिय हुनुले झापाबासीको गौरव बढाएको बताए । उनले अनाथ बालबालिकाको संरक्षण गर्न सबैले सहयोग गर्नुपर्ने भन्दै सबैको सहयोगले अनाथ बालबालिकाको भविष्य उज्ज्वल हुने बताए । बिर्तामोड उद्योग वाणिज्य संघकी जनसम्पर्क उपाध्यक्ष तथा नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमलीले स्वागत गरेको कार्यक्रममा नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले २० हजार, निवर्तमान अध्यक्ष बलराम कार्कीले पाँच हजार, वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले १५ हजार, जनसम्पर्क उपाध्यक्ष पार्वता खरेल बिमलीले पाँच हजार, उपाध्यक्ष राजु न्यौपानेले पाँच हजार, नारायण चिमरियाले पाँच हजार, महासचिव प्रशान्त भण्डारीले १० हजार, सदस्यहरु सञ्जिव घिमिरेले पाँच हजार, एजाज अहमद अन्सारीले पाँच हजार, रोशन प्रसाईंले १० हजार, कुशल खतिवडाले पाँच हजार, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले पाँच हजार संकलन गरी लवप्रसाद सुधार संघ ९लवप्रसाद बालगृह०की अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य सञ्जीव घिमिरेले गरेका थिए ।