कञ्चनपुर जिल्लाको सर्वदलीय सर्वपक्षिय बैठकमा तत्कालका लागि जारी आन्दोलन स्थगित गर्ने सहमति भएको छ। बैठकले आन्दोलनमा ज्यान गुमाएका सनि खुनालाई शहीद घोषणा गर्न माग समेत गरेको छ।
केहीबेर अघि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मृतकलाई शहीद घोषणा गर्न माग गर्नुका साथै घाइतेहरुको यथोचित उपचार र उच्चस्तरीय छानविन टोलीलाई सहयोग गर्ने निर्णय गरेको हो।
बैठकमा विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए। महेन्द्रनगरमा जारी कर्फ्यू पनि अवस्था हेरेर आजै हट्न सक्ने प्रजिअ अधिकारीले बताए।
निर्मला पन्तको बलात्कार तथा हत्या अनुसन्धान गर्न माग गर्दै भएको आन्दोलनमा शुक्रबार १३ वर्षीय बालक सनिको प्रहरीको गोली लागि मृत्यु भएको थियो।
स्थितिलाई थप भड्किन नदिन स्थानीय प्रशासनले शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालिन कर्फ्यू लगाएको छ।










