रौतहटको लालबकैया नदीमा डुंगा डुब्दा बेपत्ता भएकामध्ये आइतबार बिहानसम्म २१ जनाको उद्धार भएको छ।
जिल्ला प्रहरी कार्यालयका एसपी केदार ढकालका अनुसार अझै ५/६ जना हराइरहेको अनुमान छ।
डुंगा चालकले २५/२६ जना यात्रु रहेको भनेकाले कति यात्रु थिए भन्ने यकिन हुन नसकेको एसपी ढकालले नेपालखबरलाई बताए।
केहीबेरअघि नेपालखबरसँग कुरा गर्दै एसपी ढकालले भने, ‘डुंगा चालकले २५/२६ यात्रु रहेको बताएको छ। यसैकारण यति नै यात्रु थिए भन्ने यकिन हुन सकेको छैन। अझै ५/६ जना हराइरहेको हाम्रो अनुमान छ।’
उनीहरूको खोजीमा बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस लगायतको टोली खटिएको एसपी ढकालले जानकारी दिए। डुंगा डुबेको स्थानदेखि भारतको सीमासम्म खोजी भइरहेको उनले बताए।
रौतहटको गौर नगरपालिका ४ स्थित लालबकैया नदीको टिकुलिया घाटबाट शनिबार साँझ डुंगा बगाएको थियो। त्यस क्रममा शनिबार राति नै १५ जना सम्पर्कमा आएको र आइतबार बिहान ६ जनाको उद्धार गरिएको एसपी ढकालले नेपालखबरलाई जानकारी दिए।
बन्जाराहबाट सदरमुकाम गौरको टिकुलिया घाटतर्फ आउँदै गरेको डुंगा साँझ ७ बजेतिर लालबकैया खोलामा आएको बाढीले बगाएको हो।










