भदौ १० गते । बैतडीको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक रु एक हजारका दरले भत्ता दिने निर्णय गरेको उपप्रमुख राधा ओझाले बताउनुभयो ।

एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा हुने भएकाले उनीहरुलाई दोहोरो भत्ता नहुने गरी भत्ताको व्यवस्था गरिएको हो । उहाँले भन्नुभयो “नगरपालिकाभित्र असहाय एकल पुरुषहरु पनि रहेकाले उनीहरुलाई बाँच्न सहज होस् भनेर आफूहरुले भत्ता दिने निर्णय गरेको हौं”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुको मासिक भत्ताका लागि नगरपालिकाबाट अहिले रु १५ लाख छुट्याइएको नगरप्रमुख कृष्णसिंह नायकले जानकारी दिनुभयो । अहिले नगरका नौवटै वडाका विधुरहरुको तथ्याङ्क सङ्कलनको काम शुरु गरिएको छ । एकल पुरुषको तथ्याङ्क सङ्कलन भइरहेको र सोही रकममध्ये अनाथ असहायलाई पनि केही सहयोग गर्ने नगरपालिकाले योजना बनाएको छ ।

एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने सम्भवतः यो नगरपालिका नेपालकै पहिलो बनेको छ । यसअघि नगरपालिकाले एचआईभी सङ्क्रमित, हेपाटाइटिस, क्यान्सरजस्ता रोगका बिरामीको प्रकृति हेरेर उपचार खर्चसमेत वितरण गरेको थियो ।