जनकपुर, १० भदौं – जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा मनत्रीले नै ताला लगाएका छन् । प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै दुई नम्बर प्रदेश सरकारका एक मन्त्रीले नेपाल राष्ट्र बैंकको जनकपुरस्थित क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका छन् ।
प्रदेश सरकारले आइतवार रक्षाबन्धनका अवसरमा दिएको विदा अटेर गरेर कार्यालय सञ्चालन गरेको भन्दै दुई नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले मुरली चोकस्थित राष्ट बैंकको क्षेत्री कार्यालयमा ताला लगाएका हुन् ।
प्रदेश सरकारको विदा अटेर गरेको भन्दै मन्त्री यादवले आफैँ नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेर जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा पुगेर उनले कार्यालय सञ्चालन नगर्न निर्देशन दिएका छन् । संघीय सरकार अन्तरगतका जिल्ला प्रशासनसहितका कार्यालयहरुले प्रदेश सरकारले यसअघि दिँदै आएका विदा नमान्ने जनाएका थिए ।
रक्षाबन्धनको प्रदेश बिदा संघीय सरकार अन्तरगतका कार्यालयले अटेर गरेपछि आफैँले ताला लगाउन बाध्य भएको काननु मन्त्री यादवले बताएका छन् ।










