खेम बम काठमाडौं । कञ्चनपुर घटनामा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्युवरण गरेका सनी खुनाको आइतबार अन्त्येष्टि गरिएको छ ।
प्रहरीको गोली लागेर मृत्यु भएका खुनालाई स्थानीय प्रदर्शनकारीले मृत्युको जिम्मा सरकारले लिनुपर्ने भन्दै शव बुझ्न मानेका थिएनन् । उनीहरुले सनीको मृत्युको कारण सरकारसँग माग गरेका थिए । कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि वास्तविक अभियुक्तलाई प्रहरीले संरक्षण दिन खोजेको भन्दै स्थानीयले आन्दोलन चर्काएका थिए । वास्तविक अभियुक्त सार्वजनिक गर्न प्रहरी निरिह भएको भन्दै प्रदर्शनकारीले सरकारी सम्पतिमा तोडफोड र आगजनी गर्न थालेपछि प्रतिरक्षाका लागि प्रहरीले गोली चलाएको थियो ।
आन्दोलनले हिंसाको रुप लिन थालेपछि प्रहरीले गोली चलाउँदा १४ बर्षीय बालक सनी खुनाको मृत्यु भएको थियो । सनीको मृत्युपछि प्रदर्शनकारी झनै उग्र बनेका थिए । राज्यले नागरिकमाथि दमन गरेको र बाँच्न पाउने अधिकारलाई कुण्ठित पारेको भन्दै कञ्चनपुरका स्थानीय आक्रोसित बनेका थिए ।
सनीको दाहसंस्कारको सहमति
निर्मला पन्त हत्याको विरोध स्वरुप उग्र बनिरहेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १४ बर्षीय किशोर सनी खुनाको मृत्यु भएपछि परिवार विक्षिप्त बनेको छ । परिवारले शनिबारसम्म शव बुझ्न मानेको थिएन । छोराको मृत्युको खबरले शोकाकुल परिवारले सरकारले गरेको पछिल्लो निर्णयको स्वागत गर्दै शवको दाहसंस्कार गर्न सहमत भएको थियो ।
सनीको आइतबार बिहान दाहसंस्कार गरिएको छ । राज्यले प्रदर्शनका क्रममा मृत्यु भएका सनीलाई शहिद घोषणा गर्ने निर्णय गरेको छ । प्रदर्शनका क्रममा मृत्यु भएका सनी र बलात्कारपछि मारिएकी निर्मला पन्तका परिवारलाई १०–१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । कञ्चनपुर असामान्य बन्दै गएपछि शनिबारपनि कर्फ्यू जारी छ । जनता समाचार बाट साभार










