सभामुख कृष्णबहादुर महराले संसदमा बाटो नकाट्न सांसदहरुको ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा सांसदहरुले बोलिरहेका बेला कांग्रेस सांसद सुजाता कोइरालासहितका केही सांसदहरुले ओहोरदोहोर गरेपछि सभामुख महराले यस्तो ध्यानाकर्षण गराएका हुन् ।

सभामुख महराले ‘विशेष सूचना जारी गरेँ’ भन्दै यस्तो रुलिङ गरेका हुन् । ‘माननीय सदस्यहरु बोलिरहेको बेलामा माननीय सदस्यहरुको अगाडि क्रस गर्न मिल्दैन्, प्रतिनिधिसभा नियमावली अनुसार । धेरैजसो माननीय सदस्यहरुले यो नियमलाई अनुसरण गरेको देखिएन्’, उनले भने, ‘अब आइन्दा यो नियमलाई कडाइपूर्वक यहाँहरुले पालना गर्नुहुनेछ भन्ने विशेष अनुरोध गर्न चाहन्छु ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रतिनिधिसभा नियमावली २०७५ को दफा २० मा सभामुखले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनै पनि सदस्यले स्थान छाड्न नहुने र सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने उल्लेख छ । त्यस्तै सो दफामा सभामुखको आसन तथा बोलिरहेका सांसदको बीचबाट हिँड्न र सभामुखको आसनतर्फ पिँठ्यु फर्काएर बस्न नहुने उल्लेख छ । काठमाडौं टुडे बाट