नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भूमिगतरुपमा सैन्य दस्ता निर्माण गरिरहेको दावी नेपाल प्रहरीले गरेको छ। प्रहरीको दावी छ, उसले सैन्य दस्ताका लागि पोशाक, बन्दोबस्ती र प्राविधिक (हातहतियार र गोलाबारुद) का लागि दुई वर्षमा एक करोड रुपैयाँ खर्च गरेको खुलेको छ।
बरामद भएको बिप्लब समूहको खाताको आधारमा सैन्य प्रयोजनका लागि एक करोड खर्च भएको खुलेको हो। नेपाल प्रहरीको बिशेष ब्युरोले केही दिनअघि बिप्लबका विभिन्न भुमिगत केन्द्रहरुमा छापा मार्ने क्रममा सो बहिखाता फेला पारेको थियो। सो बहिखाता नेपाल प्रहरीको महाराजगञ्जस्थित विधिबिज्ञान प्रयोगशालामा परिक्षण भईरहेको छ।
स्रोतका अनुसार बरामद भएको खातामा आर्थिक वर्ष २०७३ देखि साउनसम्मको आम्दानी र खर्चको विवरण उल्लेख छ। खातामा यसअवधिमा सात करोड ७५ लाख रुपैयाँ चन्दा बापत उठाएको देखिएको छ। त्यसमध्ये एक करोड रुपैयाँ लडाकुको व्यवस्थापनमा खर्च भएको प्रहरीले पत्ता लगाएको छ।
प्रहरी स्रोतका अनुसार बरामद खातामा चन्दा बापत आम्दानी भएको उल्लेख छ, जसमा चन्दा दिने ब्यक्ती र संस्थाको नाम समेत उल्लेख गरिएको छ।
गृहमन्त्री रामबहादुर थापा (बादल) को निर्देशनपछि हिंसात्मक गतिविधिमा संलग्न बिप्लब माओवादी लक्षित आक्रामक कारवाहीमा छ नेपाल प्रहरी। र, उसले बिप्लबको समेत खोजी गरिरहेको छ।
स्रोतका अनुसार बिप्लब माओवादीले पछिल्लो समय भौतिक आक्रमण गरेका ठूला व्यवसायिक संस्था र घरानाले ठूलो रकम चन्दा बापत उपलब्ध गराएका छन्। सो रकमको व्यवस्थापनको जिम्मा प्रहरी हिरासतमा रहेका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पाएका थिए।
प्रहरीले प्रकाण्डसहित चारजना पोलिटब्युरो सदस्य, चारजना केन्द्रीय सदस्य र मेची तथा कोशी ब्युरो इन्चार्जलाई पक्राउ गरेर स्थानीय प्रहरीको जिम्मा लगाएको छ।
पक्राउ पर्नेमा प्रकाण्डसहित पोलिटब्युरो सदस्यहरु कृष्ण धमला, मोहन कार्की, ओमप्रकाश पुन र पदम राई छन्। धमला र कार्कीलाई प्रदेश-३ प्रहरीको जिम्मा लगाईएको छ। राईलाई प्रदेश-१ प्रहरीको जिम्मा दिईएको छ भने पुन उपर अनुसन्धान भईरहेको छ।
यस्तै केन्द्रीय सदस्यहरु चन्द्रबहादुर खड्का, देवनारायण शाह, टेकबहादुर केसी र दिपेश राई पनि पक्राउ परेका छन्। बिप्लब माओवादीका मेची ब्युरो कमाण्डर सुमन लिम्बु र कोशी ब्युरो कमाण्डर किरण राईलाई पक्राउ गरेर सम्बन्धित क्षेत्रका प्रहरीको जिम्मा लगाईएको छ।










