झापा । पछिल्लो समय चालकको लापरवाहीले झापामा सवारी दुर्घटना बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले विर्तामोडले चालकमाथि मुद्दा चलाउने अभियान सुरु गरेको छ। सवारी चालकहरूले मादक पदार्थ सेवन गरी साधन चलाउने गरेको सवारी साधन चेकजाँचको क्रममा ट्राफिक प्रहरीले फेला पार्ने थालेपछि दुर्घटना रोकथामका लागि ट्राफिक प्रहरी कार्यालयले मुद्दा दर्ता गराउने अभियान सुरु गरेको जनाइएको छ।

ट्राफिक प्रहरीले पूर्व-पश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका- ६ स्थित बुट्टाबारीमा चेकजाँचको क्रममा एक बस चालकलाई पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरी यात्रुवाहक बस चलाएको भन्दै को१ख ५२६२ नम्बरको बसका चालक मोरङ कोशीहरैँचा – ९ निवासी ३७ वर्षीय गंगाबहादुर श्रेष्ठलाई पक्राउ गरिएको ट्राफिक प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए। पक्राउ परेका बस चालक श्रेष्ठलाई सार्वजनिक मुद्दा चलाइएको उनले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘मापसे चेकजाँचको क्रममा सार्वजनिक बसका चालकभन्दा ट्रक चालकले बढी मापसे गरेका भेट्टाएका छौँ तर अहिलेसम्म उनीहरूमाथि मुद्दा चलाइएको छैन। अब चलाउने अभियानमा छौ’, उनले भने। चालू आर्थिक वर्षमा तीन जना बस चालकलाई मादक पदार्थ सेवन गरेको आरोपमा पक्राउ गरिसकेको र यसलाई निरन्तरता दिइने उनको भनाइ छ।

यात्रुको ज्यानसँग खेलवाड गर्ने त्यस्ता चालकलाई कारवाही नगरी छाड्दैनौँ’, उनले भने। ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्षमा मापसेमा २९२ जना चालकलाई कारवाही गरेको जनाइएको छ, जसमध्ये २१२ मोटरसाइकल, तीनवटा बस, ३० वटा जीप तथा कार, आठवटा ट्र्याक्टर, १९ वटा टेम्पो र अन्य ९ वटा सवारी साधानका चालक कारवाहीमा परिसकेका छन्।