काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जनप्रतिनिधिहरुलाई जनताको जीवनस्तरमाथि उठाउन प्रतिवद्ध भएर लाग्न आग्रह गरेका छन् ।

सभामुख महराले समृद्धिका लागि उत्पादन बढाउनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमबार रुकुम पूर्वस्थित ‘भूमे गाउँपालिकाको वृत्तचित्र तथा चिनारी’ नामक पुस्तकको काठमाडौंमा विमोचन गर्दै उनले रुकुम पूर्वको समृद्धिमा त्यहाँका जनप्रतिनिधिहरुसँग एउटै आवाजका साथ आफू पनि अघि बढने आश्वासन समेत दिए ।

सभामुख महराले रुकम पूर्वको विगतको गुरिल्ला युद्ध, संस्कृति र प्राकृतिक सम्पदालाई विश्वकै सम्पदाको रुपमा स्थापित गराउन सकिने सम्भावना पनि औंल्याए । तत्कालीन माओवादी जनयुद्धको सुरुवात भएको रुकम जिल्लालाई गुरिल्ला युद्धको उद्गम स्थलको रुपमा लिने गरिन्छ ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले रुकमु पूर्वमा गुरिल्ला पर्यटन विकासका लागि सरकारले आवश्यक सबै खालको सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

उनले त्याहाँको पर्यटनका लागि सरकारले यस वर्ष पनि बजेटको व्यवस्था गरेको भन्दै त्यसलाई बहुवर्षीय योजनाको रुपमा अघि बढाउने घोषणा गरे ।

कार्यक्रममा रुकुम पूर्वका जनप्रतिनिधिहरुले रुकुम पूर्वलाई गुरिल्ला पर्यटनको रुपमा विकास गर्न सरकारसँग माग गरेका थिए ।