काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सात बुँदे सुझाव दिँदै कार्यकर्तालाई न्याय दिन अपिल गर्नु भएको छ । भट्टराईले एक वर्षभित्र जनसंगठन र मञ्चहरुको अधिवेशन सके सहमतिमा नसके निर्वाचनद्वारा गर्न पनि आग्रह गर्नु भएको छ । जिल्ला कमिटीमा कस्तो नेतृत्व ल्याउने भनेर उहाँले दिनुभएको सुझाव फेसबुकमा पोष्ट गर्दै भन्नुभएको छ, ‘स्थायी कमिटी बैठक ढिलो डाकिएकाले पनि यो सुझाव सामाजिक सञ्जालमा लेखेको हुँ ।’ भट्टराईको सुझाव जस्ताको तस्तैः
पार्टीका मातहत कमिटी र मोर्चा संगठनहरुको एकीकरण सम्बन्धमा मेरा केही भनाई
१. तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता आजको युगको ऐतिहासिक परिघटना हो । यसको युगान्तकारी महत्व छ । यो एकताको रक्षा गर्नु र सही सैद्धान्तिक जगमा यसलाई अझ सुदृढ गर्नु आज हामी सबैको पहिलो दायित्व र जिम्मेवारी हो । पार्टी एकताको बिन्दुसम्म पुर्याउन नेतृत्व गर्ने मुख्य नेताद्वय केपी ओली र प्रचण्ड, यसमा सकरात्मक भूमिका निर्बाह गर्नुहुने वरिष्ठ नेताहरु, विभिन्न तहका नेता तथा कार्यकर्ता सबैलाई इतिहासले सलाम गर्नेछ । आफ्नो मतद्वारा पार्टी एकतामा दबाब सिर्जना गर्ने नेपाली जनताप्रति हाम्रो शिर सदैव निहुरिरहने छ ।
२. पार्टी एकीकरणसँगै केन्द्रीय कमिटी निर्माण, स्थायी समिति तथा सचिवालय गठन, पदीय व्यवस्थापनका विषयमा समेत केही असन्तुस्टि थिए । अनेकौँ राष्ट्रिय एजेण्डाबीच पार्टी एकताको कार्य हतारमा गर्नुपर्दा केही कमजोरी भयो होला भनेर नेतृत्वलाई शंकाको सुविधा दिनु उपयुक्त हुन्छ । यद्यपि पारदर्शी र लोकतान्त्रिक विधि तथा सहभागितामूलक प्रक्रिया व्यवस्थित गर्न सकेको भए कमजोरी न्युनिकरण गर्न सकिन्थ्यो ।
आदरणीय नेताद्वय कमरेड केपी ओली र कमरेड प्रचण्ड, पार्टी एकताको घोषणासँगै सात दशक लामो प्रयत्नलाई आफ्नो कालमा सार्थक बनाउनु भयो, तपाईंहरुलाई इतिहासले सलाम गरेको छ र जुगजुगसम्म अमर हुनुहुने छ । सायद तपाईंहरुको जिन्दगीमा योभन्दा युगान्तकारी उपलब्धी अर्को हुनेछैन । आजको दिनमा नेपाल कम्युनिस्ट पार्टीका लाखौँ कार्यकर्ताले तपाईंहरुबाट न्याय र समानता खोजेका छन्, एउटा असल अभिभावकको भूमिका खोजेका छन् । मेरो कठोर विश्वास छः हजारौँ चुनौति र अप्ठ्यारामाथि खरो उत्रँदै आउनु भएका तपाईहरु आफ्नै कार्यकर्ताका यी अपेक्षामा पनि सफल बन्नु हुनेछ ।
३. तल्ला कमिटी र मोर्चा संगठन एकीकरणका लागि गठन गरिएका कार्यदलले अत्यन्तै जिम्मेवारीपूर्वक संगठन एकीकरणका लागि काम गरिरहेका छन् । कार्यदलका सबै कमरेडले गर्नु भएको मेहनतको प्रशंसा गर्दछु । जनप्रतिनिधिको पार्टी जिम्मेवारीका सन्दर्भमा केन्द्रीय सचिवालयले केही मापदण्ड निर्धारण गरी सर्कुलर जारी गर्योय तर अन्यको हकमा कुनै मापदण्ड निश्चित नगरिदिँदा आज सार्वजनिक भएका समस्या उत्पत्ति भएका हुन भन्ने लाग्दछ । जनप्रतिनिधिका हकमा मापदण्ड जारी गर्ने केन्द्रीय सचिवालयले मातहत कमिटी निर्माणमा किन मापदण्ड तोकेन र कार्यदललाई मनखुशी गर्न छुट दियो ? यो प्रश्न मनमा उब्जिरहेको छ । यत्रो विशाल संरचना भएको र युगीन जिम्मेवारी बोकेको राजनीतिक पार्टी निश्चित मापदण्ड, लोकतान्त्रिक प्रक्रिया, पारदर्शिता र सहभागितामूलक विधिबाट बाहेक अन्यथा तरिकाबाट चल्न र सञ्चालन हुनै सक्दैन ।
४. समय घर्केको छैन । बिग्रिनुपूर्व नै सच्याउने काम गरौँ । यसका लागि पार्टीका तहगत कमिटी र मोर्चा संगठनको एकीकरणमा निम्नानुसारको मापदण्ड लागु गरौँ ।
क. कुनै जिल्ला कमिटी अध्यक्ष जनप्रतिनिधिमा निर्वाचित भएको छैन भने अब बन्ने एकीकृत कमिटी अध्यक्ष उसैलाई बनाऔँ । यदि अध्यक्ष जनप्रतिनिधिमा निर्वाचित भएको अवस्थामा त्यो जिम्मेवारी उपाध्यक्षलाई दिउँ । उपाध्यक्ष पनि त्यस्तै भए सचिवलाई र सचिव पनि त्यस्तै भए उपसचिवलाई जिम्मेवारी दिउँ । पदाधिकारी सबै जनप्रतिनिधि भए सहमतिकासाथ वरिष्ठ सदस्य मध्येबाट जिम्मेवारी दिने व्यवस्था मिलाऔँ । ख. मोर्चा संगठन, सम्पर्क कमिटी, मञ्च र प्रवास कमिटीमा पनि यही मापदन्ड लागु गरौँ । ग. आउने एकवर्षभित्र सबै प्रदेश, जिल्ला, क्षेत्र, नगर, गाउँका साथै जनसंगठन अधिवेशन गरौँ । त्यसक्रममा सकेसम्म सहमतिमा नभए लोकतान्त्रिक विधिबाट नेतृत्व छनोट गरौँ ।
५. एमाले र माओवादीबीच एकीकरण दुईवटा पार्टी समाप्त भएर नयाँ पार्टी बनेको होइन । दुईवटा पार्टीको एकता भएर एकीकृत स्वरुपमा रुपान्तरण भएको हो । यही संगठनात्मक सिद्धान्तमा उभिएर केन्द्रमा कमिटी र नेतृत्व रुपान्तरित भएको हो । जसलाई पार्टीले संक्रमणकालीन अवस्था भनेको छ । मातहतमा पनि यही सिद्धान्त पछ्याउनु पर्दछ ।
६. यो एकताको बेला हो । यो जटिल र संवेदनशील बेला पनि हो । यस्तो बेलामा अनावश्यक ढंगले समस्या उत्पन्न गर्नु कुनै पनि मानेमा राम्रो मानिने छैन । त्यसमा पनि पार्टी र सरकारमाथि चौतर्फी आक्रमण भइरहेको बेला सिंगो पार्टी अझ एकतावद्ध भएर त्यसको सामना गर्नु पर्नेमा पार्टीभित्र निषेध र प्रतिशोधको व्यवहारमार्फत पार्टीलाई कमजोर बनाउने हर्कतलाई इतिहासले क्षमा गर्ने छैन ।
७. आदरणीय नेताद्वय कमरेड केपी ओली र कमरेड प्रचण्ड, पार्टी एकताको घोषणासँगै सात दशक लामो प्रयत्नलाई आफ्नो कालमा सार्थक बनाउनु भयो, तपाईंहरुलाई इतिहासले सलाम गरेको छ र जुगजुगसम्म अमर हुनुहुने छ । सायद तपाईंहरुको जिन्दगीमा योभन्दा युगान्तकारी उपलब्धी अर्को हुनेछैन । आजको दिनमा नेपाल कम्युनिस्ट पार्टीका लाखौँ कार्यकर्ताले तपाईंहरुबाट न्याय र समानता खोजेका छन्, एउटा असल अभिभावकको भूमिका खोजेका छन् । मेरो कठोर विश्वास छः हजारौँ चुनौति र अप्ठ्यारामाथि खरो उत्रँदै आउनु भएका तपाईहरु आफ्नै कार्यकर्ताका यी अपेक्षामा पनि सफल बन्नु हुनेछ ।
नेपाल कम्युनिस्ट पार्टीका सम्पूर्ण कमरेडहरु पार्टी कमिटीहरुको एकीकरणका सन्दर्भमा केही तीता समाचारहरु सार्वजनिक भएकप्रति चिन्ता लागेर यो टिप्पणी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हुँ । पार्टी स्थायी समितिको बैठक केही ढिला गरी डाकिएको कारण नेतृत्वसमक्ष सुझावका रुपमा यो टिप्पणी प्रस्तुत गरेको छु । पार्टी एकताप्रतिको मेरो विश्वाश र पहलकदमी अटुट रहने छ । सबैले सकारात्मक योगदान गरौँ । धन्यवाद ।
जनता समाचार बाटजनप्रतिनिधिका हकमा मापदण्ड जारी गर्ने केन्द्रीय सचिवालयले मातहत कमिटी निर्माणमा किन मापदण्ड तोकेन र कार्यदललाई मनखुशी गर्न छुट दियो ?










