काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनामा पूरा सामर्थ्य लगाएर छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
‘चाहे कञ्चनपुरको घटना होस् या अन्यत्रको, यस्ता नृशंस र अमानवीय अपराधका क्रियाकलापमा हामी कहिल्यै उदार हुन सक्दैनौं, कहिल्यै होलोखुकुलो गर्न सक्दैनौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘पूरा सामर्थ्य लगाएर छानबिन हुन्छ, दोषीलाई कडाभन्दा कडा कारवाही हुन्छ ।’
प्रहरीकै भूमिका शंकास्पद् रहेको भन्ने कुरा आएपछि त्यहाँका तत्कालीन एसपी र डीएसपी तथा प्रशासकीय अक्षमताका कारण सीडीओलाई फिर्ता बोलाइएको बताउँदै प्रधानमन्त्री ओलीले उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाबारे छानबिन भइरहेको बताउनुभयो ।
साथै बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलाई १० लाख दिने निर्णय पनि भइसकेको प्रधानमन्त्रीले बताउनुभयो ।
पन्तका हत्यारा पत्ता लगाई कारवाही गर्न माग गर्दै केही दिनयता कञ्चनपुर आन्दोलित छ । पन्तको गत महिना बलात्कारपछि हत्या भएको थियो ।










