काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी पोलिट्व्यूरो सदस्य उमा भुजेल (शिलु) पक्राउ परेकी छिन् । तर प्रहरी भुजेलबारे केही बताएको छैन ।
काठमाडौंबाटै पक्राउ परेकी भुजेल टेकुस्थित काठमाडौं जिल्ला प्रहरी कार्यालयमा लगिएको बताइएको छ । प्रहरीका अनुसार, भुजेललाई सिआइबीले पक्रेको हो ।
को हुन् उमा भुजेल ? सभासद् समेत रहिसकेकी उमा भुजेल गोरखा जेल तोड्ने महिला कमाण्डर हुन् । अन्तरिम व्यवस्थापिकामा समेत विधायक रहेकी भुजेल माओवादी राज्य समिति सदस्य थिइन् । सानैदेखि राजनीतिमा सहभागी भए पनि ०४८ देखि विद्यार्थी राजनीतिमा आबद्ध भएर राजनीतिमा होमिएकी भुजेल लामो समयसम्म कलाकार रहिन् । ०५३मा माओवादी जिल्ला समिति सदस्य त्यसपछि सचिव र इन्चार्ज समेत बनिन् । ०६०मा माओवादी केन्द्रीय सदस्य बनिन् । कपिलवस्तु, अर्घाखाँची, गुल्मी, तनहु जिल्लामा जनयुद्धका क्रममा काम गरिन् ।
जनयुद्धक्रममा भुजेलले लामो समय सैन्य जीवन बिताइन् । ०५२ मा स्वयंसेवक दलदेखि प्लाटुन कमाण्डर हुँदै बृगेड कमिसार बनेकी भुजेलले एक वर्ष जेल जीवन बिताइन् । ०५७ चैत १७ गते भुजेल नेतृत्वमा महिलाहरूले जेल तोडेका थिए । जनयुद्धमै श्रीमान् मारिएपछि वसन्तकुमार श्रेष्ठसँग पुनःबिहे गरेकी भुजेल पछिल्लो समय चन्द नेतृत्वको नेकपामा आवद्ध थिइन् ।










