दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढस्थित धौलिगंगा जलविद्युत् परियोजनाको बाँध बिहीबार पुनः खोलिने भएको छ । बिहीवार बिहान ८ बजेदेखि शुक्रबार बिहान ८ बजेसम्म बाँध खोलिने एनएचपिसी धारचुला पिथौरागढले जनाएको छ ।

परियोजनाले बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्न लागेको सूचना दिएको छ । बाँध खोलेपछि महाकाली नदीमा पानीको सतह र बहाव बढ्ने भएकाले महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दार्चुलाको दत्तुमा बुधबार बिहान मापन गरिएअनुसार महाकाली नदीको सतह ४.७० मिटर क्युसेक रहेको छ । ५.५ मिटर क्युसेक बढी पानीको सतह पुगेपछि खतरा मानिन्छ । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

२८० मेगावाट विद्युत क्षमताको धौलिगंगा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्व सूचना गराउन थालेपछि पूर्व सतर्कता अपनाउन सजिलो भएको छ ।