काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन बिहीबार दिउसो साढे ३ बजे उद्घाटन हुँदैछ। अध्यक्षको हैसियतमा शिखर सम्मेलन आयोजक नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्‍घाटन गर्नेछन्।

सम्मेलनको कार्यसूचीअनुसार भोलि (शुक्रबार) पौने २ बजे सम्मेलनको समापन गरिनेछ। तर बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने सम्मेलन समापन हुनुभन्दा पौने तीन घण्टा अगावै स्वदेश फिर्नेछिन्। उनी शुक्रबार बिहान ११ बजे स्वदेश फर्किने परराष्ट्र मन्त्रालयको कार्यसूचीमा उल्लेख छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनी सम्मेलन नसकिँदै स्वदेश फर्किनुको कारण हो- बंगलादेशको आन्तरिक राजनीति। बंगलादेशमा यो वर्ष आम निर्वाचन हुँदैछ। र, निर्वाचनको मिति तोक्न ढिलाइ भइरहँदा त्यहाँ सरकार विरोधी प्रदर्शनहरू चर्किएका छन्। फोटो पत्रकार शाहिदुल आलमको पक्राउको विरोधमा केही सातादेखि त्यहाँ विद्यार्थीहरूले सरकार विरुद्ध आन्दोलन चर्काएका छन्। अर्कोतर्फ प्रतिपक्षी दल बंगलादेशी नेस्नालिस्ट पार्टीकी अध्यक्ष खालिदा जियालाई पक्राउ गरि हिरासतमा राखिएको विरोधमा पनि त्यहाँ आन्दोलन चर्किरहेको छ।

सरकार निरंकुश बन्दै गएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आलोचना भइरहेकोले प्रधानमन्त्री शेख हसिना दबावमा छिन्। देशभित्र सरकारविरुद्ध चर्किएका असन्तोषका आवाजलाई मत्थर पारी निर्वाचन गराउन उनलाई दबाव छ। तर सरकारले विपक्षीहरूलाई गैरकानुनी तवरबाट पक्राउ गर्ने र जेल हाल्ने काम गरेको, प्रेस स्वतन्त्रता हनन गरेको र नागरिक अधिकार कटौती गरेको भन्दै प्रधानमन्त्री हसिनाको आलोचना भइरहेको छ।

प्रधानमन्त्री हसिनाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग बिम्स्टेक शिखर सम्मेलनकै क्रममा साइडलाइन वार्ता गर्नेछिन् जसलाई बंगलादेशमा हुने निर्वाचनसँग जोडेर पनि हेरिएको छ।

बंगलादेशको प्रमुख पत्रिका डेलीस्टारका अनुसार उनीहरूबीच बिहीबार साँझ पौने ७ बजे हुने वार्ता बंगलादेशमा डिसेम्बरमा निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण हुनेछ।

सम्मेलनले मंगलबार सदस्य राष्ट्रका सचिवहरूको बैठक र बुधबार मन्त्रीस्तरीय बैठकबाट भएका निर्णय र प्रस्तावहरूलाई अनुमोदन गर्नेछ। यसबीच सदस्य राष्ट्रहरूका राष्ट्राध्यक्ष/सरकार प्रमुखबीच साइडलाइन बैठकहरू पनि हुनेछन्। अन्नपूर्ण पोस्ट बाट साभार