स्थानीय तहले जारी गर्ने सहकारी नीति सहकारी नीति र मापदण्डमा नभए स्वीकार्य नहुने बताइएको छ । आज दमकमा स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यक्रममा बोल्दै सहकारी क्षेत्रका अगुवा नेतृत्वहरुले सो कुरा बताएका हुन् । नेतृत्वहरुले सहकारी नीति र अन्तराष्ट्रिय मापदण्ड विपरित भए आन्दोलन समेत गर्ने बताएका छन् ।
कार्यक्रममा सहकारी संघका केन्द्रिय कोषाध्यक्ष केशव प्रसाद पोखरेल, सहकारी कर्मचारी संघका केन्द्रिय सदस्य खोम बगाले, झापा जिल्ला सहकारी संघका सचीव युवराज ढकालले लगायतले सहकारीको हितमा बोल्नु भएको छ ।
जिल्ला सहकारी संघ झापा सचीव ढकालका अनुसार जिल्लामा क्रियाशील ९ सय सहकारीमा ४ लाख सदस्य रहेका छन् । ४ हजार जनाले रोजगारी पाईरहेको सहकारीहरुमा ३० अर्वको कारोबार हुने बताउनु भएको छ । सरकारले जारी गरेको १७ वटा सहकारी सम्बन्धीको ऐनलाई मानेर जानु पनि सहकारीका लागि चुनौती रहेको उहाँले बताउनु भयो ।
स्थानीय तहले जारी गर्ने विनियमहरु अन्तराष्ट्रिय सहकारी नीति प्रतिकूल हुने भएमा त्यसलाई स्वीकार्य नमानिने संघका नेतृत्वहरुले बताएका छन् ।
५६ करोड ३२ लाख ८८ हजार १ सय ३४ रुपयाँको कारोबार गर्न सफल स्वर्णलक्ष्मी सहकारीले यो बर्ष बाट शुरुवात गरेको सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार विष्णु पौडेललाई सम्मान गरेको छ । दोसल्ला ओढाएर पत्रकार पौडेललाई नगद १० हजार र सम्मान पत्रले कार्यक्रमका प्रमुख अतिथि नेपाल सहकारी संघका केन्द्रिय कोषाध्यक्ष केशव प्रसाद पोखरेलले सम्मान गर्नु भएको छ । सहकारीका अध्यक्ष रवि न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा उत्कृष्ट एसईईका २ विधार्थी, ७ बचत कर्ता, २३ उत्कृष्ट कारोवारकर्ता र ५ कर्मचारी सहित ३८ जनालाई सम्मान गरिएको छ ।
कार्यक्रमको बन्द सत्रले पुन रवि न्यौपानेको अध्यक्षतामा ७ सदस्यीय संचालक समितिको समेत सर्वसहमतिबाट चयन गरेको छ ।










