प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकमार्फत सगरमाथा र महासागर जोड्न आह्वान गरेका छन् । काठमाडौंमा आजै सुरु भएको चौथो प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको उद्घाटनको क्रममा प्रधानमन्त्री ओलीले दक्षिण एसिया र दक्षिण पूर्वी एसिया जोड्ने अभियानमा बिमस्टेक रहेको औल्याएका छन् ।

‘बिमस्टेकले केवल हाम्रा देशहरूलाई मात्र जोड्दैन, यसले दक्षिण एसिया र दक्षिण–पूर्वी एसियालाई पनि गाँस्छ ।’ भारत, बंगलादेश, भुटान, म्यानमार, थाईल्याण्डका राष्ट्र प्रमुखहरु सहभागी भएको बिमस्टेक सम्मेलनको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले बिमस्टेकले महासागरहरूका साथै हिमाल रपहाडहरू जोड्ने र पारिस्थितिकीय परस्पर निर्भरतालाई बलियो बनाउने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा प्रधानमन्त्री ओलीले बिमस्टेक आतंकवाद, संगठित अपराध, लागूऔषधको तस्करी, मानव तस्करी तथा मनि लाउन्डरिङको जोखिममा रहेको भन्दै त्यसका विरुद्धमा सहकार्य गर्नुपर्ने बताए । सम्मेलनको पहिलो दिनको औपचारिक कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओलीले विशिष्ट अतिथिहरूको सम्मानमा बौद्धस्थित होटल हायातमा रात्रिभोज दिने कार्यक्रम रहेको छ ।

बिमस्टेकको कार्यतालिका अनुसार शुक्रबार विहान ८ः०० बजे प्रधानमन्त्री ओलीद्वारा आयोजित ‘रिट्रिट’ बाट शुरु हुनेछ । त्यसपछि बिहान साढे दश बजे बिमस्टेकको दोस्रो दिनको सत्र शुरु हुने र अपरान्ह १२ः०० बजे काठमाडौं घोषणा पत्र जारी गर्ने कार्यक्रम छ । सम्मेलन भोलि सकिदैछ ।