झापा । नेपाल मुश्लिम नागरिक समाज गौरीगञ्जले मादक पदार्थ सेवन गरेर समाजिक सद्भाव विथोल्ने मुश्लिम समुदायलाई जरिवाना तिराउने भएको छ ।
हालै बसेको बैठकले समुदायलाई अनुशासित, मर्यादित बनाउन सो निर्णय गरेको समाजका अध्यक्ष नसीर उद्दीनले बताए । ‘हाम्रो समुदायमा मादक पदार्थ खाने चलन छैन, सो खानु भनेको मुश्लिम धर्मको खिल्ली उडाउनु सरह हो’, अध्यक्ष उद्दीनले भने –‘यदि कसैले त्यसो गर्छ भन्ने जरिवाना तिराएर सच्याउने प्रयास गर्छौ । अटेर गरेमा समाजबाटै बहिष्कार गर्नेछौं ।’
पछिल्लो समय मुश्मिल युवाहरुको यसप्रतिको मोह बढेको कारण उनीहरुलाई सुधार्न यस्तो प्रयासको थालनी गरेको अध्यक्ष उद्दीनको भनाई छ । उनका अनुसार मादक पदार्थको प्रयोग गरी झगडा गरेमा पहिलोपटक रु।५५१, दोस्रो पटक रु १ हजार १००, तेस्रो पटकलाई रु १ हजार ५५१ जरिवाना तिराउने बैठकले निर्णय गरेको छ ।
यति जरिवाना तिर्दै जाने तर मादक पदार्थ सेवन गर्न नछाड्ने हो भने समाजबाट त्यस्ता व्यक्तिहरुलाई बहिष्कार गरिने अध्यक्षको भनाई छ । गौरीगञ्ज गाउँपालिकामा मुश्लिम समुदायको बढी बसोवास रहेको छ ।










